आइतबारदेखि मेचीनगरका बिद्यालयमा पठन पाठन सुचारु


मेचीनगर । मेचीनगरका सबै बिद्यालयमा आगामी आइताबारदेखि कक्षा सुचारु हुने भएको छ । कोभिड १९ का कारण बिगत नौ महिनादेखि बन्द रहेका मेचीनगरका बिद्यालयहरु खुला गरेर पठन पाठन सुचारु गर्ने मेचीनगर शिक्षा समितिले निर्णय गरेको छ ।

शिक्षा समितिको आज सम्पन्न बैठकले शिक्षा मन्त्रालयद्वारा जारी गरेको बिद्यालय सञ्चालन कार्य ढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी बिद्यार्थीहरुलाई भौतिक रुपमा बिद्यालयमा उपस्थित गराएर नै पठन पाठन गराउने निर्णय गरेको नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिए ।

शिक्षा अधिकारी भण्डारीका अनुसार ‘सरकारले बिद्यालय सञ्चालनका लागि केही ब्यवस्था गरेको छ सोही ब्यवस्था बमोजिम बिद्यालय खोलेर पठन पाठन सुचारु गर्ने शिक्षा समितिले निर्णय गरेको हो ।’

मेचीनगरका सबै बिद्यालयलाई कक्षा सञ्चालनको ढाँचा नगर शिक्षा शाखामा प्रस्तुत गर्न शुक्रबारसम्मको समय दिइएको र बिद्यालयले प्रस्ताव गरेको ढाँचामा आइतबारदेखि सबै बिद्यालयका कक्षा सञ्चालन हुने नगर शिक्षा अधिकारी भण्डारीले बताए ।
कक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य मापदण्ड भित्रका सेनिटाइजर,मास्क तथा भौतिक दुरी कायम गर्ने लगायतका ब्यवस्था बिद्यालयले अनिवार्य गर्नु पर्नेछ ।

सरकारले जारी गरेको बिद्यालय सञ्चालन कार्य ढाँचा २०७७ ले कक्षा सञ्चालनका लागि बिभिन्न सात वटा बिकल्प दिएको छ । जसमा सबै कक्षा र बिद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग अलग समयमा अलग अलत कक्षा वा तह सञ्चालन गर्ने, बिद्यालय खुल्ने वा कक्षा सञ्चालन हुने अवधि छोट्याउने, अवस्था तथा जोखिम र सहजतालाई हेरी तल्ला र माथिल्ला कक्षालाई अलग अलग सञ्चालन गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, एउटै कक्षाका बिद्यार्थीलाई अलग अलग सिफ्टमा राखेर कक्षा सञ्चालन गर्ने र हप्तामा केही दिन र दिनमा केही घण्टा मात्र कक्षा सञ्चालन गर्ने जस्ता बिकल्पहरु रहेका छन ।