मेचीनगरको ‘पिकनिक स्पट’ बाँसवारी यसपटक भने सुनसान


काँकरभिट्टा । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण मेचीनगरका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् । बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्र अहिले सुनसान बनेको हो । अघिल्ला वर्षहरुमा निक्कै भीडभाड देखिने ‘पिकनिक स्पट’ भनेर चिनिएको झापाको मेचीनगर–११ मा अवस्थित बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्र यतिखेर निक्कै सुनसान झै छ । बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना केन्द्र तथा विभिन्न जीवजन्तुको अवलोकन समेत गर्न सकिने यस क्षेत्रले अन्य मौसम भ्रमण र जाडोको मौसममा वनभोजका लागि आफ्नो छुट्टै पहिचान बनाएको छ ।

झापाको मेचीनगर–१० धुलावारीको ढाटदेखि उत्तरतर्फ कच्ची र पक्की सडक प्रयोग गर्दै करिब दुइ किलोमिटरको यात्रा पुरा गरेपछि बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्र पुगिन्छ । ५ हेक्टर जमीनमा फैलिएको यो क्षेत्रभित्र १ विगाह क्षेत्रमा ठूल्ठूला पोखरी बनाएको छ । सिमसारको पोखरीलाई व्यवस्थित गरी बोटिङ गर्ने बनाइएको छ । पोखरीमा ट्रस्ट ब्रिज राखिएको छ । फाउण्टेन, शिव मूर्ति, चिडियाखाना र गार्डेनले आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आर्कषण गर्ने गर्दछन् ।

१२ महिनै यसक्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटक आउने भएपनि विशेषगरी वर्षको चारमहिना मंसिर, पुस, माघ फागुनमा पर्यटकको अत्यधिक भीडभाड हुने गर्दछ । गएको नयाँ वर्षमा त्यसक्षेत्रमा घुम्न आउनेहरुबाट केन्द्रले ९५ हजार रुपैयाँ रकम संकलन गरेको थियो । हरेक वर्षको बैशाख १ गतै नयाँ वर्षका अवसरमा यसक्षेत्रमा आउने मानिसको भीड थामीनसक्नुको हुन्थयो तर, यसवर्षको नयाँ वर्षमा मानिसको उपस्थिती शुन्य झै रहेको केन्द्रले जनाएको छ ।

 

वरिपरि फलैँचा, सेल्फी हाउस र चिल्ड्रेन पार्क पनि बनाइएको छ । सिमसारमा एकैपटक एक सय पिकनिक टोली अटाउन सकिने क्षेत्र पनि रहेको छ । सिमसार क्षेत्रमा व्यवस्थित पार्क, हात्ती, डाइनासोरलगायत विभिन्न जीवजन्तुको मूर्ति राखिएको छ । हरिण, दुम्सी, बादर, अट्रिज, पाइथन, इमुलगायतका जीवजन्तुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । बाँसबारी सिमसार तथा पर्यटन क्षेत्र संरक्षित वन्यजन्तु पुनरास्थापना केन्द्रको पहलमा नेपाल सरकारले झण्डै डेढदेखि दुई करोड रुपैयाँ लगानी गरेको छ ।

वन समितिका उपभोक्ता, मेचीनगर नगरपालिका, पर्यटन मन्त्रालय, साविक धाइजन गाविसलगायतको आर्थिक सहयोगमा सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाइएको हो । सहज अवस्था हुदा उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य गरी मासिक १० हजार पर्यटक आउने गरेका थिए । तर कोभिड १९ को संक्रमण शुरु भएसँगै पर्यटक नआउँदा सुनसान झै बनेको छ । अहिले स्थानीयहरु फाट्ट फूट्टु आउने गरेका गरेका छन् । जस्ले आफ्नो खर्च समेत धान्न नसक्ने अवस्था छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको यो क्षेत्र कोभिड–१९ सक्रमणको त्रासका कारण दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि अहिले सुनसान बनेको अध्यक्ष तकदिर प्रसाईले बताए । सिमसार घुम्नका लागि ३० रुपैयाँ प्रवेश शुल्क बुझउनु पर्छ । त्यसक्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरी नजीकै चारवटा सुविधा सम्पन्न होटल रेष्टुरेन्ट खुलेका छन् । पर्यटकको उपस्थिति न्यून हुँदा सञ्चाल गर्न गाह्रो भइरहेको छ ।