लैङ्गिक हिंसा रोकथामबारे आमा समूहलाई अभिमुखीकरण


मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा मेलमिलापकर्ताहरूलाई लैङ्गिक हिंसा, प्रभावित केन्द्रित दृष्टिकोण र मनोसामाजिक प्राथमिक उपचारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच (IGBVRN) परियोजनाअन्तर्गत मेचीनगर नगरपालिकाको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा महिला विकास अधिकृत अञ्जली बास्कोटा, लैङ्गिक हिंसा प्रतिकार्यसम्बन्धी कमला उप्रेती, रञ्जना जोशी, यशुना श्रेष्ठ, दिप्ती श्रेष्ठ, मनोसामाजिक कार्यकर्ता सुनिता बाजगाईं तथा श्रीजना चापागाईं लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा लैङ्गिक हिंसाको अवस्था, हिंसाबाट प्रभावित व्यक्तिलाई हेर्ने प्रभावित केन्द्रित दृष्टिकोण, पीडित तथा प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउने उपाय तथा मनोसामाजिक प्राथमिक उपचारका विषयमा अभिमुखीकरण गराइएको थियो।

हिंसामा परेका व्यक्तिलाई थप पीडा नदिई सुरक्षित, सम्मानजनक र संवेदनशील व्यवहार गर्ने, प्रभावितको गोपनीयता कायम राख्ने तथा आवश्यक सेवा र सहयोगसँग जोड्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो।

स्थानीय समुदायमा आमा समूहका सदस्य तथा मेलमिलापकर्ताहरू प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूलाई लैङ्गिक हिंसा पहिचान, प्रभावितलाई प्रारम्भिक सहयोग तथा आवश्यक निकायसम्म पहुँच पुर्‍याउने विषयमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

विश्व बैंक तथा SPF को सहयोगमा सञ्चालित IGBVRN परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा न्यूनीकरण तथा हिंसा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग र सेवा उपलब्ध गराउन आफ्नो समुदायमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका

थिए।