मेचीनगरमा ‘इन्डो–नेपाल ब्रेनवेभ ह्याकाथन–२०८३’ हुने


मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक क्षमताको विकास गर्ने उद्देश्यले मेचीनगरमा ‘इन्डो–नेपाल ब्रेनवेभ ह्याकाथन–२०८३’ आयोजना हुने भएको छ।

ब्रेनवेभ सर्कलको आयोजनामा हुने कार्यक्रममा नेपाल र भारतका विभिन्न विद्यालय तथा विद्यार्थीहरूको सहभागिता रहनेछ।

कार्यक्रममा दुई हजारभन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रम भदौ २० गते (सेप्टेम्बर ५, २०२६) मेचीनगर–६ स्थित काँकडभिट्टा हलमा आयोजना हुनेछ। विद्यार्थीहरूले इनोभेसन मोडल, प्रोटोटाइप तथा कार्यशील परियोजनामार्फत आफ्ना सिर्जनात्मक तथा नवीन विचार प्रस्तुत गर्नेछन्।

ह्याकाथनमा विज्ञान, प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), वातावरण, पर्यटन तथा नवप्रवर्तन लगायतका विषयलाई प्राथमिकता दिइनेछ।

नेपाल र भारतका विद्यार्थीबीच ज्ञान, सीप र सिर्जनात्मक विचारको आदानप्रदान गराउँदै नयाँ पुस्तालाई नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको संयोजक कमल भेटवालले बताए।