गृहलक्ष्मी सहकारीद्वारा बाढीपीडितका लागि २८ हजार सहयोग


मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ हजार रुपैयाँ सहयोग गरेको छ।

सहकारीका सात सिद्धान्तमध्ये सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’ लाई आत्मसात् गर्दै बाढीपीडितका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले बताए।

संस्थाको खर्चलाई मितव्ययी बनाउँदै सञ्चालक समिति, लेखा समिति, सेवा केन्द्र उपसमिति तथा कर्मचारी परिवारका तर्फबाट प्रत्येक व्यक्तिले रकम संकलन गरी उक्त रकम कोषमा जम्मा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले सहयोग गरेको उनले बताए।

अध्यक्ष श्रेष्ठका अनुसार सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायमा आइपर्ने विपद् तथा समस्यामा सक्दो सहयोग गर्दै आएको छ।