रसुवा बाढीपीडितका लागि मेचीनगरका जनप्रतिनिधिको सहयोग घोषणा


मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएपछि मेचीनगरका नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा वडा सदस्यहरूले पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने घोषणा गरेका हुन् ।

नगरप्रमुखले रु. ५ हजार र नगर उपप्रमुखले रु. ५ हजार सहयोग गर्ने घोषणा गरेका छन्। त्यसैगरी कार्यपालिका सदस्यले रु. २ हजार, वडा अध्यक्षले रु. २ हजार तथा वडा सदस्यले रु. १ हजार सहयोग गर्ने भएका छन् ।

विपद्को समयमा पीडितलाई राहत र उद्धारमा सहयोग पुग्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयाेग गर्न लागिएको नगर प्रमूख गाेपाल चन्द्र बुढाथोकीले बताए ।

बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनीहरूले उद्धार तथा राहत कार्यमा सबैले आ–आफ्नो क्षेत्रबाट सबैले सहयाेग गर्नुपर्ने नगरप्रमुख बुढाथोकीले बताए ।

मेचीनगरका जनप्रतिनिधिहरूको यो सहयोगले विपद्को समयमा स्थानीय तहका जनप्रतिनिधिबीचको मानवीय ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वलाई समेत देखाएको छ।