मेचीनगरका बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि डीपीआर तयार हुँदै


मेचीनगर । मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआलीलगायत प्रमुख बजार तथा शहरी क्षेत्रमा आधुनिक र एकीकृत ढल व्यवस्थापन प्रणाली निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ।

मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खानेपानी तथा ढल व्यवस्थापन विभागसमक्ष नगर क्षेत्रको ढल व्यवस्थापनका लागि योजना बनाएर माग गरेको थियो । नगरपालिकाको माग र योजनाअनुसार उक्त आयोजना आर्थिक वर्ष २०८१/८२ को योजनामा समावेश भएपछि डीपीआर निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो।

टेन्डर प्रक्रिया पूरा भएपछि आज मंगलबार विभागको टोलीले आयोजनास्थलको स्थलगत अनुगमन गरेको छ।

स्थलगत अनुगमनमा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर-६ का वडध्यक्ष ललित तामाङ, इन्जिनियर जीवन रिमाललगायतको सहभागिता रहेको थियो ।

आयोजना अन्तर्गत मेचीनगरका घना शहरी क्षेत्रमा रहेका नाला तथा ढल निकास प्रणालीलाई एकीकृत गरी ढल व्यवस्थापन गरिने जनाइएको छ । संकलन गरिएको ढललाई प्रशोधन केन्द्रमा पुर्‍याई प्रशोधन गर्ने र प्रशोधन प्रक्रियापछि सफा पानीसमेत निकाल्ने योजना रहेको छ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले योजना सफलतापूर्वक कार्यान्वयन भएमा मेचीनगरको ढल व्यवस्थापन क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताए। उनले दीर्घकालीन सोचका साथ आधुनिक र व्यवस्थित ढल व्यवस्थापन प्रणाली निर्माण गर्न नगरपालिकाले प्राथमिकताका साथ पहल गरिरहेको समेत बताए।

डीपीआर तयार भएपछि आयोजनाको विस्तृत लागत, संरचना, ढल संकलन प्रणाली, प्रशोधन केन्द्र तथा कार्यान्वयनका चरणहरू स्पष्ट हुनेछन्। आयोजना कार्यान्वयनमा आएपछि मेचीनगरका प्रमुख बजार तथा घना शहरी क्षेत्रको सरसफाइ, वातावरण संरक्षण र जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।