कवि शिरोमणि माविको वार्षिकोत्सवमा भोलि ओली आउने


धुलाबारी  । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको मेचीनगर–९ को कविशिरोमणि माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव कार्यक्रम फागुन ११ गते सोमबार हुँदैछ ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट दुईजना शिक्षक सम्मान, दाता सम्मान, छात्रवृत्ति वितरण तथा सांगीतिक कार्यक्रम गरिने तय भएको वरिष्ठ शिक्षक दिवश भण्डारीले जानकारी दिए ।

सम्मान समारोहसँगै कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन पूर्व विद्यार्थी तथा चर्चित कलाकर सरोज ओली आउने भएका छन् । सोही विद्यालयमा पढेका ओली पछिल्लो समय सफल गायकका रुपमा स्थापित छन् ।

उनी चलचित्र क्षेत्रमा उत्तिकै लागि परेका छन् । ओलीले निर्माण गरेको ठूलो पर्दाको चलचित्र ‘हरिबहादुरको जुत्ता’ सफल बनेको थियो । अहिले उनी अर्को चलचित्र निर्माणको तयारी जुटेका छन् ।

यसैबीच, विद्यालयमा आइतबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर वडा नं ९ को आर्थिक सहयोगमा भएको वक्तृत्वकलामा वडा नं ९ र १० का १० वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए ।

‘सूचनाको प्रविधि : अवसर र चुनौति’ विषयक वक्तृत्वकलामा धुलाबारी माविकी छात्रा प्रिन्सा गौतम प्रथम, हिमालयन इङ्लिस एकाडेमीकी छात्रा पुजा पराजुली दोस्रो, कविशिरोमणि माविकी सरस्वती श्रेष्ठ तेस्रो र आदर्श विद्या मन्दिरकी दिव्यांका खत्री सान्तवना भइन् ।

विजेता भएसँगै उनीहरुले क्रमशः पाँच, चार, तीन र एकहजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अग्रज पत्रकार मोहन काजी र सागर सिवाकोटीको निर्णायक मण्डलले नतिजा निकालेको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापाको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य धनकुमार श्रेष्ठ, धुलाबारी माविमा सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाई, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष चन्द्रमणि पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष चुडामणि रेग्मी, पूर्व सहायक प्रअ लोहितप्रसाद चापागाई लगायतको आतिथ्यता रहेको थियो ।
शिक्षक अमृता पाठकले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका सहायक प्रधानाध्यापक तुलसा दंगाल भण्डारीले गरेकी थिइन् ।