मेचीनगरमा सिटी सफारीको दर्ता सूरु


मेचीनगर । झापाको मेचीनगर नगरपालिका कार्यालयले तीन पाङ्ग्रे ई–रिक्शा अर्थात सिटी सफारीको दर्ता प्रक्रिया शुरु गरेको छ । योसंगै सफारीहरूको धमाधम दर्ता गरि सवारी दर्ता प्रमाण पत्र वितरण सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरपालिका क्षेत्राधिकारभित्र रहेका ई–रिक्साको व्यवस्थापन, दर्ता, नविकरण गर्ने जिम्मा प्रदेश सरकारले सम्बन्धित पालिकालाई हस्तान्तरण गरेपछि ऐन कार्यान्वयन गर्न मेचीनगर नगरपालिकाले “ सिटी सफारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९ अनुसार दर्ता प्रक्रिया सुरु गरेको हो ।

पहिलो चरण अन्तरगत कोशी प्रदेश सरकारले मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेका दुईसय ५० वटा सिटी सफारी दर्ता गरि सवारी दर्ता प्रमाण पत्र प्रदान गरिने छ । मेचीनगरमा करीब एकहजार सिटी सफारी सञ्चालनमा छन् ।

लामो समयको मिहेनत र सम्बन्धित अनि सरोकारवालाहरूसँगको छलफल पछि मेचीनगर नगरपालिकाले बुधबार राजेशकुमार सुनुवारलाई सवारी दर्ता प्रमाण पत्र ९ब्लु–बुक० हस्तान्तरण गरि सवारी दर्ता प्रमाण पत्र वितरण कार्य शुरू गरिएको छ । मेचीनगरका उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्त प्रकाश वस्ती, र खाद्य बिश्लेशक दिपेन्द्र कार्कीलगायतले संयुक्तरूपमा सुनुवारलाई सवारी दर्ता प्रमाणपत्र हस्तान्तरण गरि सुरुवात गरेका हुन् ।

अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधि अनुसार मात्र दर्ता गरि मेचीनगरका विभिन्न क्षेत्रमा चलाउन पाइने भएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । यसले गर्दा सिटी सफारी दर्ताका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य हुने स्थानीय तहमानै दर्ता नविकरण हुने उनको भनाई छ ।

अहिले मेचीनगरको मुख्य समस्यामा देखिएको ई–रिक्सा, सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि भएकाले ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।