शिवसताक्षी रोलिङ च्यालेञ्ज कप च्याम्पियन
धुलाबारी । दोस्रो हाफको अन्तिम ८ मिनेट खेल आफ्नो नियन्त्रणमा राख्न नसक्दा आयोजक रोलिङ फुटबल क्लब धुलावारी चौथो रोलिङ च्यालेन्ज कपको उपाधि जोगाउनबाट बञ्चित भएको छ । धुलाबारी माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक रोलिङलले टाइब्रेकरमा ४–३ गोल अन्तरले पछि पर्दै उपाधि शिवसताक्षी नगरपालिका स्पोर्टिङ क्लबलाई सुम्पियो ।खेलको नतिजालाई दोस्रो हाफको ३५ औं मिनेटमा उल्टाएर शिवसताक्षीले उपाधिसँगै नगद २ लाख हात पारेको छ ।
२–१ ले अगाडि रहेकोे धुलावारीले अन्तिम समयमा आएर शिवसताक्षी माथि डिएरिया नजिकै फल्ड गरेपछि पाएको फ्रिकिकलाई विकास लामाले उत्कृष्ट प्रहार गर्दै विपक्षीको जाली चुमाउन सफल भए । योसँगै निर्धारित ९० मिनेटको खेलमा २–२ को बराबरी भएपछि नतिजाका लागि खेल सोझै टाइब्रेकरतर्फ धकिलिएको थियो ।
टाइब्रेकरमा आयोजककातर्फबाट कप्तान पुजन उपरकोटीको पहिलो प्रहार पोष्टबारबाट बाहिरियो । शिवसताक्षीका विकास लामाको प्रहारलाई रोलिङका गोल रक्षक सूर्य घिमिरेले बजाउ गरेपनि टिमलाई जिताउँन सकेनन् । रोलिङका लागि विकास थुलुङ, कोमल खवास, निशेन सुब्बाले गोल गर्दा शिवसताक्षीका लागि युसुफ थपलिया, संजोग महर्जन, जनक कोइराला र रोशन दोङले गोल गरे ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका शिवसताक्षीका जनक कार्की म्यान अफ दी म्याच बन्दै नगद १० हजार प्राप्त गरे । त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको छ ।जसमा बेष्ट डिफेन्स आयोजक रोलिङका दिवस उराउ, बेष्ट मिडफिल्ड शिवसताक्षीका रोहन कार्की, बेष्ट स्ट्राइकर रोलिङका विदेशी खेलाडी फोफोना, बेष्ट गोल रक्षक शिवसताक्षीका विवेक राई बने । उत्कृष्ट सबैले नगद १० हजार हात पारे । साथै प्रतियोगिताको सर्वोत्त्कृष्ट खेलाडी बनेका आयोजक रोलिङका कप्तान पुजन उपरकोटीले नगद १५ हजार प्राप्त गरे ।
विजेतालाई कार्यक्रमका अतिथिहरु झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदयकुमार पनेरु, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, वडा नम्बर १५ का अध्यक्ष राजन भट्टराई, वडा नम्बर ५ का अध्यक्ष योगेन थापा मगर, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहाल, इप्रका धुलावारीका प्रहरी निरीक्षक विकास राई, कार्यपालिका सदस्य कृष्ण कनाल, पुरस्कार सौजन्य गर्ने विभिन्न ब्यक्तित्वहरुले विजेता खेलाडिहरुलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
आयोजक क्लबका अध्यक्ष नोमेम्बर नेम्बाङको अध्यक्षमा सम्पन्न पुरस्कार वितरण तथा समापन समारोहको सञ्चालन क्लबका सचिव महेश खड्काले गरेका थिए ।
छिट्टै राष्ट्रिय स्तरको गोल्डकप गर्छौ : आयोजक
२०२० सालमा स्थापना भएको रोलिङ क्लबले यसअघि ४ वटा गोल्डकप सञ्चालन गरिसकेको छ । प्रदेशका उत्कृष्ट ८ वटा टिमलाई सहभागी गराएर च्यालेञ्ज कप सम्पन्न गराएको आयोजकले खेल प्रेमीहरुको मन जितेको छ । च्यालेञ्ज कप समापन समारोहको अवसरमा आयोजकहरुले अब लगत्तै एडिभिजनका क्लबहरु सहितको गोल्डकप आयोजना गर्ने उद्घोष गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक गरेको वडा नम्बर १० का अध्यक्ष पनेरुले गोल्डकप सञ्चालन गर्न वडाको तर्फबाट नगद २० लाख र वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्काले वडाको तर्फबाट नगद १० लाख सहयोग गर्ने घोषणा गरे ।
झापाको पुरानो फुटबल क्लबको रुपमा रहेको रोलिङ धुलावारी मात्र नभई मेचीनगरकै गौरवको रुपमा रहेको बताउँदै आयोजकले केही समय सुस्ताएको रोलिङलाई अब पहिलाकै लयमा फर्काउने दाबी गरेका छन् ।
समापन समारोहको प्रमुुख अतिथि रहेका मेचीनगर प्रमुख विमल आचार्यले नगर भित्र सञ्चालन हुने खेलकुदका विभिन्न प्रतियोगितालाई नगरपालिकाको तर्फबाट यथोचित सहयोग गर्ने बचन दिए । उनले नगर खेलकुद विकास समितिले चाँडैनै नगरका खेलप्रेमी महानुभावहरुसंगको अन्तरक्रियात्मक कार्यक्रम गरी खेलकुदको विकासमा लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कोरोना महामारी पछि नगरमा सबैभन्दा ठुलो खेलकुुद प्रतियोगिता सम्पन्न गराएको आयोजकले सुस्ताएको खेल क्षेत्र र खेलाडीहरुलाई प्रोत्साहन हुने गरी प्रतियोगिता सम्पन्न गरेर प्रशंसा बटुलेको छ ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
