रसुवा बाढी–पहिरो पीडितका लागि मेचीनगरका कर्मचारीले सहयोग गर्ने


मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मेचीनगर नगरपालिकाका कर्मचारीहरूले पीडितको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गर्ने भएका छन् ।

नगरपालिकामा भएको बैठकले रसुवा जिल्लामा बाढी–पहिरोका कारण प्रभावित तथा सम्पर्कविहीन भएकाहरूको खोजी, उद्धार र सहयोगका लागि कर्मचारीहरूबाट तहअनुसार रकम संकलन गर्ने निर्णय भएकाे प्रमूख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाका कर्मचारीहरूले विपद्को समयमा आफ्नो तर्फबाट समेत सहयोग जुटाउँदै पीडित परिवारलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरीएको प्रमूख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

निर्णयअनुसार नगरपालिकामा कार्यरत कर्मचारीको स्तरअनुसार सहयोग रकम निर्धारण गरिएको छ। अधिकृतस्तरका कर्मचारीदेखि सहायकस्तर तथा श्रेणीविहीन कर्मचारीसम्मबाट तोकिएको रकम संकलन गरी बाढी–पहिरो प्रभावितका लागि सहयोग गर्ने निर्णय भएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोबाट ठूलो जनधनको क्षति भएको छ भने कतिपय व्यक्ति अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्। यस्तो अवस्थामा खोज तथा उद्धार र राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।

मेचीनगर नगरपालिकाका कर्मचारीहरूले पनि मानवीय संवेदनाका साथ सहयोग रकम उपलब्ध गराउने निर्णय गर्दै विपद् प्रभावितप्रति ऐक्यबद्धता जनाएका छन्।