मेचीनगरमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यसम्बन्धी अभिमुखीकरण


मेचीनगर । मेचीनगरमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच (IGBVRN) परियोजनाअन्तर्गत नगर प्रहरी, फ्रन्ट डेस्क तथा वारुण यन्त्रका कर्मचारीहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन समारोह मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन मेचीनगर नगरपालिका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा शाखा प्रमुख जयन्त खेरालले गरेका थिए।

अभिमुखीकरणमा लैंगिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले सहभागीहरूलाई लैंगिक हिंसा, लैंगिक संवेदनशीलता तथा मनोसामाजिक प्राथमिक उपचार (PFA) लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन्।

प्रशिक्षणका क्रममा लैंगिक हिंसाका घटना पहिचान, पीडित तथा प्रभावित व्यक्तिसँग गर्ने व्यवहार, तत्काल प्रतिकार्य, मनोसामाजिक सहयोग तथा आवश्यक सेवा र समन्वयका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लैंगिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहबाट प्रभावकारी पहल आवश्यक रहेको बताए। उनले हिंसामा परेका व्यक्ति तथा पीडितलाई सुरक्षित, संवेदनशील र सम्मानजनक वातावरणमा सेवा उपलब्ध गराउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले लैंगिक हिंसासम्बन्धी घटनामा कर्मचारीको व्यवहार, संवेदनशीलता र तत्कालको प्रतिकार्य महत्वपूर्ण हुने बताए।

मेचीनगर नगरपालिका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा शाखाको आयोजनामा सञ्चालित कार्यक्रम २०८३ भदौ ९ गतेदेखि १० गतेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा विश्व बैंक तथा स्टेट एन्ड पिस बिल्डिङ फन्ड (SPF) को सहकार्य रहेको छ।