निदिमा निर्वाचन: क्याप्टेनमा आरएन र भाइस क्याप्टेनमा श्रीजेश


बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी माध्यमिक विद्यालयको माहोल शुक्रबार अन्य दिनको तुलनामा केही भिन्न थियो । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो र निर्वाचनमा मतदान गर्नु र आफूलाई मन पर्ने व्यक्ति छान्नु नागरिककको कर्तव्य हो । यही कुरालाई आत्मसाथ गर्दै विद्यार्थीहरु स्कूल क्याप्टेन र भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र भाइस क्याप्टेन छान्न मतदान गर्न व्यस्त देखिन्थे ।

कुल ५२३ मतदाता मध्ये ४७० मत खसेकोमा स्कूल क्याप्टेनमा नमस्ते चिन्ह्र लिएर उम्मेदवार बनेका आरएन काफ्ले २२९ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी हिमानी चम्लागाईंले १३७ र निकिता खरेलले ९७ मत प्राप्त गरेको विद्यालयका प्रिन्सिपल भिष्म प्रसाईंले जानकारी दिए ।

त्यस्तै स्कूल भाइस क्याप्टेनमा घडी चिन्ह्र लिएर उम्मेदवार बनेका श्रीजेश शिवाकोटी २६२ मत लिएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी अंशु लिम्बूले २०१ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी यल्लो हाउस क्याप्टेनमा सम्राट प्रसाईं र भाइस क्याप्टेनमा सोफिया संग्रौला विजयी भएका छन् भने ब्लु हाउसको क्याप्टेनमा जीवन बास्कोटा र भाइस क्याप्टेनमा सिफना भट्टराई निर्वाचित भएकी छन् ।

त्यस्तै ग्रिन हाउस क्याप्टेनमा शीर्षक दाहाल र भाइस क्याप्टेनमा सेसेमा लिम्बू तथा रेड हाउस क्याप्टेनमा गुराँस घिमिरे र भाइस क्याप्टेनमा आभास राउत निर्वाचित भएका छन् ।