धुलाबारीमा टेम्पु तथा ई–रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण


धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको आयोजनामा धुलाबारी क्षेत्रका टेम्पु तथा ई–रिक्सा चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम धुलाबारीको रोयल निर्भानको हलमा आयोजना गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा धुलाबारी क्षेत्रका करिब ५० जना चालकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारी र ट्राफिक प्रहरी धुलाबारीले सहकार्य गरेका थिए ।

उद्घाटन कार्यक्रमका सभापति सामाजिक मेलमिलाप समाज नेपालका अध्यक्ष प्रकाश खड्काले चालकहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना अनिवार्य भएको बताए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवशंकर साहले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नं. १० का वडा सदस्य सोम ओझाले ट्राफिक सचेतनाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । विशेष अतिथि मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले चालकहरुलाई जिम्मेवार भएर सवारी सञ्चालन गर्न आग्रह गरे ।

प्रशिक्षणमा इलाका प्रहरी कार्यालय धुलाबारीका असई मनिषकुमार मण्डल तथा ट्राफिक प्रहरीका वरिष्ठ हवल्दार होमप्रसाद आचार्यले सहजीकरण गरेका थिए । प्रशिक्षकहरुले अधिकांश सडक दुर्घटना चालकको लापरवाहीका कारण हुने भएकाले ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले सवारी चलाउँदा दायाँ–बायाँ ध्यान दिनुपर्ने, आवश्यक कागजात साथमा राख्नुपर्ने तथा सुरक्षित ढंगले सवारी सञ्चालन गर्नुपर्ने विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा डा. मनिषा कोइराला, पत्रकार झुलन रेग्मी, प्रहरी जवान विश्वास बस्नेत, सहायक हवल्दार विनिशा दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, धुलाबारी क्षेत्रका टेम्पु तथा ई–रिक्सा चालक तथा मजदुरहरुले नाफारहित सामाजिक संस्था गठन गर्ने तयारी समेत गरिएको जनाइएको छ ।