जनताको घर–घरमा पुग्दै स्वतन्त्र उम्मेद्वार निरौला


इलाम । इलाम–२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र तर्फ मनोज निरौला घरदैलो अभियानमा छन् । घरदैलो अभियानमा स्वतन्त्र उम्मेदवार निरौलाप्रति मतदातामा बढ्दो आकर्षण देखिएको छ ।

युक्रेनको विश्वविद्यालयबाट इन्जिनियरिङ सकेका निरौलाले आफ्नो योजना जनतालाई सुनाउदै जनताको घर–घरमा पुगेका छन् । उनको योजनालाई जनताले साथ दिएका छन् । उनले कृषि तथा उद्यम, धार्मिक तथा पर्यटन, शिक्षा, श्रम तथा रोजगारी, स्वास्थ्य, महिला अधिकारको प्रत्याभूति र उत्पीडनको अन्त्य, सामाजिक सुरक्षा युवा तथा खेलकुदलगायतको विषयलाई प्राथमिक्ता दिएका छन् ।
उनले गरिबीको रेखामुनि रहेका जनतालाई परिचयपत्र प्रदान गरी खाद्य, शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारीको कार्यक्रम बनाउन पहल गर्ने घर दैलो अभियान मार्फत मतदातालाई प्रतिवद्धता व्यक्त गरेका छन् ।

महिला बेचबिखन, दाइजो र बोक्सी प्रथा जस्ता असामाजिक तथा अमानवीय व्यवहार र कुप्रथाहरु तथा महिलामाथि हुने सबैखाले हिंसा, यौनजन्य हिंसा जघन्य अपराध हो। यस्तो कार्यविरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गरि कडा कानुनी उपचारको व्यवस्था गर्न पहल गर्ने र समाजमा सचेतना फैलाई यस्ता हिंसाजन्य व्यवहारलाई निरुत्साहित गर्न पहल गर्ने उनले बताए ।

इलाम २ मा जनताको समस्य आफुलाई राम्रोसँग थाहा भएका कारण दुक्कसँग मतदान गर्न अपिल गरेका छन् । ‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो,’ उनले भने । सबैको मन जित्दै निर्वाचित भएर इलामको समयसापेक्ष विकास गर्नुका साथै जनताको सेवक बन्नुछ । मतदाता पनि निरौलाको अभियानलाई साथ दिने प्रतिवद्ता व्यक्त गरे ।

इलाम २ मा इलाम नगरपालिकाको वडा १० बाहेक सबै, देउमाई नगरपालिकाका सबै वडा र माई नगरपालिकाका ६, ७ र ८ वडा छन् भने चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वटा वडा छन् ।

१२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार इलाम २ को उपनिर्वाचनमा उत्रिएका छन् । इलाम नगरपालिकामा (१० वडा बाहेक) ३४ हजार ४५, देउमाई नगरपालिकामा २६ हजार ३६५ र माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् । यसैगरि चुलाचुली गाउँपालिकामा १८ हजार ५४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५३६, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३०२ गरी कुल १ लाख १५ हजार ८८९ मतदाता छन् ।