कार्गिल सहिद स्मृति फुटबल : बाहुनडाँगीको विजयी शुरुवात


मेचीनगर । कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरश्वती मावीको खेल मैदानमा आज भएको उद्घाटन खेलमा रिक्की प्रधान र श्याम मुर्मुको समान १-१ गोलको मद्दतमा बाहुण्डागीले विजयी शुरुवात गरेको हो ।
खेलको १७ औं मिनेटमा पहिलो गोल गर्दै बाहुनडाँगीका कप्तान समेत रहेका रिक्की प्रधानले टीमलाई अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा दोस्रो गोल गर्दै श्याम मुर्मुले अग्रता दोब्बर बनाए । बिपक्षी टीमका गोलरक्षक केही अघि बढेको मौकालाई सदुपयोग गर्दै प्रहार गरेको उनको गोलले जाली चुमेको थियो ।
खेलमा कचनकवलले गोल गर्नका लागि विभिन्न अवसर बनाएपनी गोल भने गर्न सकेन । खेलको म्यान अफ द म्याच बाहुण्डागीका लागि पहिलो गोलकर्ता प्रधान घोषित भए । उनले ट्रफी र १५०० नगद प्राप्त गरे ।
प्रतियोगिता अनुसार भोलीको खेल सनिश्चरे फुटबल क्लब भर्सेस रोलिङ क्लब धुलाबारी बीच हुनेछ । आजबाट शुरु भएको प्रतियोगिता २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख एक हजार र उपबिजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
आजबाट शुरु प्रतियोगिताको उद्घाटन शत्रको प्रमुख अतिथी झापा गोल्ड्कपका अध्यक्ष बिनोद बस्नेत रहेका थिए । उनले खेल क्षेत्रको विकासका लागि बाहुण्दागी जेसीजले चालेको यस कदमप्रती धन्यवाद ज्ञापन गरे । प्रतियोगीताको उद्घाटन शत्रमा प्रमुख अतिथी बस्नेतसंगै सहिद परिवारका तर्फबाट नेत्रराज थापा क्षेत्री, बाहुण्डागी जेसीजका संस्थापक अध्यक्ष नवीन बराल, मेचीनगर ४ का वडाअध्यक्ष अर्जुनकुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बाहुण्डागी जेसीजका अध्यक्ष देबु बानीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव सुस्मिता भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।