मेचीनगर नगरपालिका : ‘सुत्केरी पोषण’ कार्यक्रम प्रभावकारी


मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ ।

नगरपालिकाले अहिले पन्द्रवटै वडामा सुत्केरी भएका महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् ।

मातृ मृत्युदर कम गर्न नगरका गरिब तथा पिछडिएका सुत्केरी महिला लक्षित कार्यक्रमका रूपमा अगाडि सारिएको यस कार्यक्रम अहिले सबैमाझ प्रभावकारी बन्दै गइरहेको उनको भनाइ छ । उनका अनुसार यस आर्थिक बर्षको लागि पहिलो चरणमा ७ लाख बजेट छुट्याइएर कार्यक्रम अगाडी बढाइरहेको भएता पनि १५ लाखबढी रकम आवश्यक रहने र त्यो रकम नगरपालिकाले उपलब्ध गराउने उनले बताईन् ।

अघिल्लो आर्थिक बर्ष २०७९र०८० मा ११२ जनाले सेवा लिएका थिए भने नगरपालिकाको आर्थिक बर्ष २०८०र०८१ को छ महिनामा मात्रै सुत्केरी पोषण कार्यक्रम अन्तर्गत १६४ जनाले सेवा लिएका निमित्त स्वास्थ्य शाखा प्रमुख रामप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक बर्षको पुस मसान्तसम्ममा सबैभन्दा बढी मेचीनगर ३ का ३० जना सुत्केरी महिलाले सेवा लिएका छन् । दोस्रोमा ९ नम्बर वडा रहेको छ । उक्त वडामा १९ जनाले सेवा लिएका छन् । त्यस्तै नगरको सबैभन्दा कम मेचीनगर १, २ र ४ नम्बर वडामा समान दुई दुई जना सुत्केरी महिलाले सेवा लिएका छन् ।

नगरपालिकाले मापदण्ड नै बनाएर अहिले सुत्केरी महिलाहरुलाई १ केजी घ्यु, मह र मिक्स गेडागुडी गरी २ हजार मुल्य बराबरको पोषण सामाग्री वितरण गरिरहेको छ । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सेवा लिनका लागि अनिवार्य अस्पताल मै सुत्केरी हुनुपर्ने छ । त्यस्तै बच्चाको जन्मदर्ता अनिवार्य रहेको छ ।