मेचीनगर : भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण


मेचीनगर । मेचीनगर नगरपालिकामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले धनिपूर्जा पाउने भएका छन् । नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई सोमबारदेखि जग्गाको निस्सा वितरण कार्य सुरु गरेसंगै उनीहरुले धनिपूर्जा पाउने बाटो खुलेको हो ।

विगत लामो समयदेखि विभिन्न कारणले धनिपूर्जा प्राप्त गर्न नसकिरहेका उनीहरुलाई स्थानीय सरकारको समन्वयमा अहिले प्रक्रियागत ढंगले पहिलो चरणमा जग्गाको निस्सा वितरण कार्य सुरु गरिएको छ । योसंगै अब भने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई धनिपूर्जा पाउने आश थपिएको छ ।

भूमि आयोगसंगको समन्वयमा स्थानीय सरकार मेचीनगरले भूमिहीन नगरबासीको बिषयमा गम्भिर भएर लागि परिरहेको थियो । जसको कारण अहिले नगर क्षेत्रका अव्यवस्थित बसोबास ३ हजार ३०, भूमिहिन सुकुम्बासी १ हजार ८१४ र भूमिहिन दलित ३०७ गरी ५ हजार १५१ जनाले जग्गाको निस्सा प्राप्त गर्ने छन् । उनीहरु सबैले वडागत रुपमा मंसिर २५ गतेदेखि २९ गतेसम्ममा जग्गाको निस्सा प्राप्त गर्ने मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको बताए । छिट्टै नै उनीहरुलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यमा आफुहरु लागि परेको उनको भनाई छ ।

त्यस्तै नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले ‘पहिलो चरणमा सबै प्रक्रिया पुगेकालाई निस्सा वितरण सुरु गरेका हौं’ अब ‘पुर्जा वितरणका लागि केन्द्र र जिल्लाबाट नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’ यसको लागि केहि समय धैर्य गर्न भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई आग्रह गरिन् ।

मेचीनगरले आजदेखि सुरु गरेको निस्सा वितरण कार्यक्रम अन्तर्गत पहिलो दिन १, २, ३ र ४ नम्बर वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई वितरण गरिएको छ । नगरपालिकाले मेचीनगर–३ नम्बर वडा कार्यालयबाट जग्गाको निस्सा वितरण अभियानको सुरुवात गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यापालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदय राजवंशी, कार्यपालिका सदस्य तथा मेचीनगर भूमि आयोग समितिका संयोजक अमित खम्बु, बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, वडाध्यक्ष हर्क बस्नेतलगायतको उपस्थितिमा निस्सा वितरण गरेको थियो।

मेचीनगर ३ मा अव्यवस्थित बसोबास ३८८, भूमिहिन सुकुम्बासी ८६ र भूमिहिन दलित ४५ गरेर जम्मा ५१९ जनाले जग्गाको निस्सा प्राप्त गर्ने वडाध्यक्ष हर्कबहादुर वस्नेतले जानकारी दिए ।

त्यस्तै २ नम्बर वडाका भूमिहीन दलित ११ जना, भूमिहीन सुकुम्वासी १२ जना र अव्यवस्थित बसोवासी २४० जना गरी जम्मा २६३ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष दिपक बरालले बताए ।

यस्तै १ नम्बर वडाका भूमिहीन दलित ८ जना, भूमिहीन सुकुम्वासी २० जना र अव्यवस्थित बसोवासी ११९ जना गरी जम्मा १४७ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष रामकुमार राईले बताए ।

यसैगरी ४ नम्बर वडाका भूमिहीन दलित ३ जना, भूमिहीन सुकुम्वासी २४ जना र अव्यवस्थित बसोवासी १९६ जना गरी जम्मा २२३ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न नगरपालिकाले बिगत एक बर्ष अघिदेखि ३ जना लगत प्रविष्टकर्ता, ४ जना फिल्ड सहयोगी र १ जना अमिनलाई निरन्तर खटाइरहेको छ । मंसिर २५ गतेदेखि सुरु भएको निस्सा वितरण कार्यक्रम यहि मंसिर २९ गते सम्ममा सकिनेछ । फर्म भर्न छुटेका, कागज नमिलेका, नामहरु सच्याउनु पर्ने लगायतका काम एक हप्तादेखि १५ दिनसम्मको समय दिइएको नगरपालिकाले जनाएको छ ।