संजोगको उपचार गर्न क्यारिटासले दियो ५० हजार सहयोग


मेचीनगर । गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात)को उपचार गराउन नसकिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले रु। ५० हजार आर्थिक सहयोग गरेको छ ।
संजोगको उपचारमा चरम आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि क्यारिटासले उपचारका लागि सहयोग गरेको हो ।
क्यारिटास नेपालका कोशी प्रादेशिक कार्यालय दमकका प्रमुख देबेन्द्र पोखरेल र वरिष्ठ कर्मचारी हिमालयन अधिकारीले आज अपराह्न बीएन्डसी हस्पिटलमै पुगेर बिरामीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
उक्त रकम बिरामी संजोगका वुवा राजेन्द्र थापामगर, आमा दिलमाया थापामगर र भिनाजु थमबहादुर तामाङलाई हस्तान्तरण गरिएको थियो ।

अस्पतालमै छन् संजोग
गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका संयोगलाई सत्र दिन अघि कार्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल प्रशासनले संजोगको हालसम्मको उपचारको बक्यौता छ लाखभन्दा धेरै भइसकेको बताउनुभएको छ । हाल संजोग आइसीयु कक्षमै छन् ।
उनको टाउकाको शल्यक्रिया भइसकेको छ ।
मलेसियामा रोजगार गरेर गत वर्ष फर्किदा संजोग विरामी नै थिए । उनको लिभरमा समस्या देखिएको थियो भने उच्च रक्तचापको समस्या पनि थियो । घर चलाउनै आर्थिक संकट परेपछि संजोगकी पत्नी लक्ष्मी थापा मगर दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् । उनीहरुको दुई सन्तान छन् । छोरी ९ वर्ष र छोरा ७ वर्षका छन् । संजोगका वुवा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । उनी शारीरिक रुपमा अशक्त बनेका छन् । आमा पनि विरामी नै छन् ।

‘घरको आर्थिक अवस्था ज्यादै दयनीय छ,’ संजोगका भिनाजु थमबहादुर तामाङ भन्छन्–‘अहिलेसम्म ऋणपान र आफन्त गुहारेर केही रकम अस्पतालमा डिपोजिट गरेका छौं । अस्पताल व्यवस्थापनले अरु पैसा जम्मा नगरी उपचार अघि बढाउन गाह्रो हुन्छ, छिटो पैसा खोजेर ल्याउनु पर्यो भनिरहेका छन् । हामीसँग पैसा निकाल्ने अब कुनै उपाय बाँकी छैन ।’ संजोगका वुवा राजेन्द्र थापा र र आमा दिलमाया थापाले अस्पताल परिसरमै दुई दिन अघि पत्रकारहरुसँगको भेटमा उपचारका लागि आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाइदिन सार्वजनिक आह्वान गरेका थिए । आमा दिलमाया थापा मगरले भनेकी थिइन्–‘बुढेशकालको सहारा बन्ला भनेको छोरा बिरामी पर्यो । दया गरेर सहयोग गरिदिए उसको प्राण बच्ने थियो ।’

संजोग बचाउ अभियानमार्फत उपचार सहयोग जुटाउन संजोगका भिनाजु थमबहादुर तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको छ । इच्छुक दाताहरुले सोही बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नेछन् ।
बैंक खाताको विवरण
बैंक : ग्लोबल आइएमई बैंक, धुलाबारी शाखा
खातावालाको नाम : थमबहादुर तामाङ
खाता नं. ०२३०७०१०१२४९५९