काँकरभिट्टा मावि पूर्व विद्यार्थी समाज : कोषका लागि देउसी–भैलो खेल्ने निर्णय


काँकरभिट्टा । काँकरभिट्टा माविको नवगठित पूर्व विद्यार्थी समाजले १५ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । समाजको शनिबार बसेको पहिलो बैठकले १५ लाखको अक्षय कोष स्थापन गर्ने निर्णय गरेको हो ।

आफूबाटै कोषको सुरुवात गरेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए । समाजका अध्यक्ष प्रधान र सोहि विद्यालयकी पूर्व विद्यार्थी उनकी श्रीमती सविताबाट दश हजार १ रुपैयाँ कोषमा जम्मा गरेर कोषको सुरुवात गरिएको छ ।

काँकरभिट्टा माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले सो कोष स्थापना गरिएको उनले बताए । अक्षयकोषको व्याजबाट विद्यालयमा अध्ययन गर्ने विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री तथा छात्र बृत्ति प्रदान गर्ने छौँ’, अध्यक्ष प्रधानले भने,‘कार्यकालको तीन वर्षमा १५ लाख पुर्याउने लक्ष्य छ । प्रत्येक वर्ष ५ लाखका दरले कोष बृद्धि गर्दै जाने छौँ ।’

कोष निर्माणमा स्वदेश तथा विदेशमा छरिएर रहेका काँकरभिट्टा माविका पूर्व विद्यार्थी तथा विभिन्न संघ संस्था र सहयोगी हातहरुको सहयोग प्राप्त हुने समाजको विश्वास लिएको छ । समाजले कोष बृद्धिमा सहयोग गर्न सबैसँग आग्रह समेत गरेको छ । समाजको पहिलो बैठकले कोष बृद्धिमा थप सहयोग पुर्याउन तिहारको अवसरमा यहि कात्तिक २७ र २८ गते दुई दिन देउसी–भैलो खेल्ने निर्णय गरेको सचिव गणेशकुमार खरेलले जानकारी दिए ।