विवादित प्रहरी मण्डल पुनः डीएसपीको घुमुवा


काँकरभिट्टा । पटकपटक विवादित बनेपनि हाकिमको प्रिय पात्र बनेपछि प्रहरी संगठन भित्र हालिमुहाली गर्न पल्किएका केही पात्रहरुका कारण सिङ्गो प्रहरी संगठन नै बदनाम हुन पुग्ने गरेको छ। ठिक त्यस्तै अवस्था अहिले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा देखिएको छ।

यसअघि काँकरभिट्टामा नै सूचना संकलन गर्ने नाउँमा घुमुवाको जिम्मेवारीमा रहेर लामो समय काम गरेका उनले पटकपटक दुई नम्बरी धन्दा गर्नेहरुबाट रकम असुल्ने र कमाउ धन्दा चलाउने गरेको, पैसा नदिने खुद्रा व्यापारी तथा सुपारी कटाउने तस्कर र महिलाहरूमाथि हातपातमा समेत उत्रिएको समाचार यसअघि नै सार्वजनिक भएको थियोे भने उनको बफादारीका कारण उन्मुक्ति दिएको पीडितहरुले आरोप लगाउने गरेका थिए।

यिनै विवादित प्रहरी मण्डलले हाकिमहरुको आशिर्वाद पुनः पाउँदै फेरि एकपटक घुमुवाको जिम्मेवारी पाएका छन्,। घुमुवा प्रहरीमा हाकिमको रोजाइमा परेका मण्डल बारम्वार काँकरभिट्टामा काज र सरुवा हुने गरेको श्रोतले बताएको छ।

विगतमा पनि घुमुवाको जिम्मेवारी पाएका मण्डलको तस्करहरुसँग साँठगाठ भएको र रकम अशुलीको आरोप लागेपछि तत्कालीन प्रहरी नायब उपरिक्षक गोविन्द कार्कीले मण्डलको आचरण ठिक नभएको भन्दै चेतावनी समेत दिइएको थिए। पछि डिएसपि राजेन्द्र पोखरेलको पालामा उनलाई घुमुवाको नाइके नै बनाएर सिमा क्षेत्रमा परिचालन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी रहेका प्रहरी सहायक हवल्दार विनोद मण्डल पटक पटक काँकरभिट्टा आउने जाने गरेका थिए भने काँकरभिट्टामा अवैध असुली गरिरहेको आशंकामा उनलाई २०७८ चैतमा जिल्ला प्रहरी कार्यालयको आदेशमा जिल्ला मै तानिएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट पुनः उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्ज पठाइएको थियो । तर यिनै विवादित प्रहरी मण्डललाई केही महिना अगाडि पुनः काँकरभिट्टा ल्याइए लगत्तै स्थानीयहरु त्रसित बनेका थिए। मण्डल काँकरभिट्टा आउने बित्तिकै उनलाई शुरुमा क्युआरटी बाईकमा बजार गस्तीमा हिडाइने र पछि घुमुवामा खटाइने तयारी गरिरहेको विश्वस्त स्रोतले जानकारी दिएको थियो भने विभिन्न सञ्चारमाध्यमले समाचार समेत प्रकाशित गरेका थिए।

२०७५ साल चैत ६ गते काँकरभिट्टा काजमा आएका मण्डल जिल्ला तानिएर पनि पुनः काँकरभिट्टा आएर केही समय बर्दी लगाएर फिल्ड ड्युटी गरेका थिए भने अहिले उनलाई घुमुवाको जिम्मेवारी सुम्पिएको पाइएको छ। पछिल्लो समय सिमानाकामा कडाइ गरिएपनी काँकरभिट्टा नाकाबाट तस्करी भइरहेको र सिविल प्रहरीसँग राम्रो सम्बन्ध भएकाहरुले निश्चित रकम बुझाएर तस्करी गरिरहेको पाइएको छ।

तस्करहरुले हाल नेपालबाट चुरोट, सुपारी, विभिन्न कस्मेटिक सामानहरु भारततर्फ कटाउने र भारतबाट जुत्ता, कपडा, किराना तथा मोटर पार्टस, रजनीगन्ध तथा सुर्तीजन्य वस्तुहरु नेपाल छिराउने गरेका छन्,।

अहिले मण्डल अधिकांश समय सीमावर्ती भारतीय बजार पानिट्यांकीमा घुम्ने गरेको र वारीपारी गर्ने खुद्रा व्यापारीहरुलाई आफू घुमुवा प्रहरी भएको र कसैलाई यो कुरा नबताउन अनुरोध गरेको समेत फेला परेको छ। सादा पोशाकमा हिड्ने काँकरभिट्टाका प्रहरीलाई स्थानिय हाकिमको निर्देशन समेत रहेको स्रोतको दाबी छ ।

सोही कामको लागि हाकिमको वफादार पात्रको रुपमा प्रहरी सहायक हवल्दार विनोद मण्डललाई काँकरभिट्टा ल्याइएको समाचार यसअघि नै प्रशारण भएको थियोे भने विश्वस्त स्रोतले केही महिना अगाडि बताए अनुसार नै मण्डललाई घुमुवाको जिम्मेवारी दिइएपछि उनलाई हाकिमको आशिर्वाद रहेको पुष्टि भएको छ।