लागूऔषध नियन्त्रण कार्यक्रम, भित्तामा रक्सीको विज्ञापन


मेचीनगर । सीमा क्षेत्र काँकरभिट्टामा लागु औषध नियन्त्रण चुनौतीको विषय बनेको छ । भारतीय सीमाना पानीट्यांकीमा खुलेआम विक्री वितरण हुँदा नियन्त्रणमा चुनौती थपिएको हो । लागुऔषध नियन्त्रणका विषयमा सीमा क्षेत्र काँकरभिट्टामा प्रायजसो सन्देशमूलक कार्यक्रमहरु आयोजना हुँदै आएका छन् ।
तर, सोमबार लागूऔषध नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम कोठामै सीमित गरिएको छ । कोशी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रम एक रेस्टुरेन्टमा गरिएको हो ।

जहाँ कार्यक्रमस्थलमा मादक पदार्थका ब्राण्डहरुको विज्ञापन गरिएको थियो । लागुऔषध सुरुवातमा मादक पदार्थबाट सुरु हुने विज्ञ बसन्त कुँवरले बताएका थिए । उनले दुई साता अघि मेचीननगरले आयोजना गरेको लागुऔषध नियन्त्रण विषयक कार्यशालामा यस्तो बताएका थिए ।
आज त्यही तथ्यलाई वेवास्ता गर्दै प्रदेश सरकारले विद्यार्थी सहभागी गराई कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम कुनै सभाहलमा नभई काँकरभिट्टास्थित ‘बोर्डल्याण्ड क्याफे एण्ड बार’मा सम्पन्न भयो ।
अन्तरक्रियामा प्रदेश सांसदसँगै स्थानीय तहका प्रमुख, सुरक्षाकर्मीहरु, विभिन्न संघसंस्थामा क्रियाशील व्यक्तित्व तथा कक्षा ८–९ मा अध्ययनरत विद्यार्थीको उपस्थिति थियो । जुन कार्यक्रम अन्य कुनै सार्वजनिक स्थानमा आयोजना हुनुपर्नेमा रेस्टुरेण्टमा आयोजना हुँदा सबै अचम्मित भए । आयोजक संस्थाले भने अन्य स्थानमा उपयुक्त हल नपाएकाले रेस्टुरेन्टमा गर्नु परेको बताएको छ ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, सशस्त्र प्रहरी काँकरभिट्टाका प्रमुख निर्मल थापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख दिपक भारती लगायतले लागुऔषध नियन्त्रणका लागि आगामी कदमका विषयमा विभिन्न सुझाव राखेका थिए ।
…………………………….