मेचीनगरमा नियमअनुसारनै सामाजिक सुरक्षा भत्ता वितरण


मेचीनगर । मेचीनगर नगरपालिकाले नियमअनुसार नै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको भएता पनि नगरपालिका बाट जारी फर्वाड फिड वमोजिमको रिभर्स फिड सम्बन्धित बैंकहरुले अपलोड नगरेका कारण महालेखाले बेरूजु देखाएको पाइएको छ ।

महालेखाले मेचीनगरबाट भुक्तानी हुँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा दोहोरो विवरण दर्ता भएको भन्दै त्यसको यथार्थ विवरण उपलब्ध गराउन मेचीनगर नगरपालिकालाई निर्देशन दिएको छ ।

मेचीनगरबाट वितरण भएको सामाजिक सुरक्षा भत्ता वितरणमा २ करोड १८ लाख शंकास्पद देखिए पछि सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नाम सहित महालेखा परीक्षकको कार्यालयले आ.व. २०७८/७९ को लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमा निजहरुले दोहोरो भत्ता प्राप्त गरेको हो या होइन छानविन गरि यकिन गर्न सुझाएको थियो ।

त्यस पश्चात् मेचीनगरले वास्तविकता बुझ्दा एक आर्थिक वर्षमा ३/३ महिनामा गरि जम्मा चार पटक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको तर, महालेखाले एक त्रैमासिक बरावरको भत्ता रकम १२ हजार मा शंका उत्पन्न हुँदा चारै त्रैमासिकको रकम अर्थात ४८ हजार नै शंकास्पद रहेको भनि उल्लेख गर्नाले समग्र रकमको आँकडा ठुलो देखिन गएको नगरपालिका स्रोतले जनाएको छ ।

महालेखाले उक्त प्रतिवेदन सार्वजनिक गरे पश्चात नगरपालिकाको सम्बन्धित शाखाले विवरणमा उल्लेखित हरेक शंकास्पद रहेका लाभग्राहिको वडा मार्फत र भत्ता वितरण गर्ने सम्बन्धित बैंकसँग विवरण माग गरि छानविन गर्दा कुनैपनि लाभग्राहीले दोहोरो भुक्तानी नलगेको र पाउनुपर्ने वास्तविक व्यक्तिले मात्र भत्ता प्राप्त गरेको पाइएको छ ।

महालेखाले शंकास्पद भनि उल्लेख गरेका ति हरेक व्यक्तिका भत्ता प्राप्ति विवरण, बैंकले स्वयमले लिखित पत्रमार्फत नै दोहोरो होइन भनि नगरपालिकालाई पठाएको प्रमाणित पत्र र त्यस्ता हरेक लाभग्राहीले लगेका भत्ताको बैंक स्टेटमेन्ट समेत नगरपालिकामा सुरक्षित रहेको नगरपालिका स्रोतले जनाएको छ ।