स्वच्छ इलाम अभियान अन्तर्गत जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया, प्रश्नावली सर्वेक्षण, विद्यालय सचेतना, समुदाय सचेतना, विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता, युवाहरुबीच टिकटक प्रतियोगिता साथै परम्परागत तथा डिजिटल मिडियाबाट वायु प्रदूषण सम्बन्धी पैरवी गर्ने आदि कार्यक्रम सन्चालन गरिने इसिएफका अध्यक्ष तथा स्वच्छ अभियानका फोकल पर्सन हैकम घिसिङले जानकारी दिए ।
नेपालमा अव्यवस्थित सहरीकरण, औद्योगिकरण, वन डढेलो, पुराना सवारी साधान निर्वाध सन्चालन, अव्यवस्थित फोहोरमैला, फोहोर तथा हानिकारक वस्तु खुल्ला रुपमा जलाउने जस्ता क्रियाकलापले वायूमा हानिकारक कणहरु मिसिन गई प्रदूषण बढ्दै गएको छ । बढ्दो वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ। विशेषगरी बाल बालिका, वृद्ध, वृद्दा एवम् श्वासप्रश्वास र मुटुका बिरामीहरुलाई बढी प्रभावित पार्ने अध्ययनहरुले देखाएको छ
नेपालको सन्दर्भमा वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ ले पिएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ।
त्यसैगरी १०० माइक्रोग्रामसम्म मध्यम, १०० देखि १५० सम्म संवेदनशील समूहको लागि अस्वस्थ, १५० देखि २०० माइक्रोग्रामसम्म अस्वस्थ, २०० देखि ३०० माइक्रोग्रामसम्म धेरै अस्वस्थ र ३०० देखि ५०० माइक्रोग्रामसम्म भएमा खतरनाक अवस्था रहेको बुझिन्छ । इलामको चोक बजारमा रहेको अमेरिकन कर्नरमा जडान गरिएको लो कस्ट सेन्सरको तथ्यांङ्क अनुसार इलामको वायुमा औषत प्रति घनमिटर १४७ माइक्रोग्राम सूक्ष्म कणहरु पाइएको छ जुन संवेदनशील समूहका लागि अन्त्यन्तै जोखिम अवस्था हो ।
नयाँ वर्षको अवसर पारेर यही वैशाख ४ गते इलाम नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम गर्ने साथै अन्य निर्धारित कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्दै लैजाने अभियानका सदस्य सत्यम चौधरी जानकारी दिए ।