मिसन ग्रासरुट : प्रदेश सदस्य निलकण्ठ तिवारीलाई कारबाही गर्न माग


बाहुनडाँगी । नेकपा एमालेको मिसन ग्रासरुट अभियानका क्रममा कार्यकर्ताले मेचीनगर –१ स्थित गाडागल्लीमा पार्टीका प्रदेश कमिटी सदस्य निलकण्ठ तिवारीको व्यापक बिरोध गरेका छन् ।

कार्यक्रममा उपस्थित एमालेका कार्यकर्ताहरुले भर्खरै सम्पन्न सिद्धिमेची नहरको निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै पार्टीले कारवाही गर्नुपर्ने माग राखेका छन् ।

स्थानीय कार्यकर्ता टेकचन्द्र फुँयालले पार्टी कार्यकर्तामा अनुशासन गुमेको बताए । उनी भन्छन्, ‘पार्टीले गलत आचरणका कार्यकर्तालाई कारबाही गर्नुपर्छ ।’ ‘पार्टीकै नेता निलकण्ठ तिवारीको कारणले सिद्धि नहरको नेतृत्व हामीले गुमाउन परो । उहाँले हाम्रो पार्टीको कार्यकर्तालाई हराएको हो । उनले पार्टीलाई घात गर्छन् भने पार्टी छाडेर जाउन् ।’

यसैगरी स्थानीय अग्रज कार्यकर्ता रत्न कुमार केसीले पार्टीमा सही स्कुलिङ नभएको गुनासो गरे । उनले सम्पूर्ण कार्यकर्तालाई पार्टीको दर्शन र सिद्धान्त पढाउन जरुरी रहेको बताए । पार्टी केन्द्रले नै कार्यकर्तालाई सही स्कुलिङ नदिएका कारणले पार्टी बिग्रिदै गएको उनको बुझाई छ । सबैलाई हाम्रो दर्शन, आचरण र सिद्धान्त पढाउन जरुरी छ, उनले भने – ‘कार्यकर्तालाई वैचारिक रुपमा तयार नपार्दा हामी कमजोर बन्दै गएका हौँ ।’

यस्तै, जेष्ठ कार्यकर्ताहरुले नयाँ कार्यकर्ताहरु जनतामुखी हुनुको साटो नेतामुखी भएको गुनासो व्यक्त गरे । उनीहरुले पाटीलाई मजबुत बनाउन व्यक्तिलाई नभएर विचारलाई समर्थन गर्नुपर्ने बताएका छन् ।

यसैगरी अन्य कार्यकर्ताहरुले नेतृत्व स्वयम्ले ट्रयाक बिगारेर पार्टी कमजोर बनाएको आरोप लगाए । उनीहरु भन्छन्, ‘हामीलाई एक हुनु भन्ने नेताहरु आफैं एक हुनुहुन्न । उहाँहरु विभिन्न स्वार्थमा रहेर निर्णय गर्नुहुन्छ । उहाँहरु आफैं छिन्नभिन्न हुनाले हामीलाई सही बाटो पहिल्याउन गाह्रो भएको छ ।’

मङ्गलबार मिसन ग्रासरुटको अभियानको नेतृत्व गर्दै मेचीनगर १ पुगेकी नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य मञ्जु भण्डारीले सबै कार्यकर्ता एकजुट भएर जनप्रीय सरकार निमार्ण गर्नुपर्ने बताएकी छिन् । उनी भन्छिन्, ‘हाम्रो मुख्य उद्देश्य भनेको जनताको मन जितेर मत लिएर सरकार बनाउने र उनीहरुको समस्या समाधान गर्ने हो । त्यसैले हामी एक हुनुपर्छ । एमाले एक हुने हो भने हामीलाई कसैले पनि हराउन सक्दैन ।’

एमालेलाई हराउन सबै शक्तिहरु एक भएको अवस्था छ । सबैले घेराबन्दी गर्दा समेत जनतासम्म पुगेर उहाँहरुको मन जितन मिसन ग्रासरुट सञ्चालन गरिएको हो । हामीले वैचारिक रुपमा सक्षम युवा उत्पादनमा मुख्य भुमिका खेल्न जरुरी छ ।

मेचीनगरको सबै वडामा चाँडै वैचारिक, सैद्धान्तिक र दर्शनात्मक छलफल हुने समेत उनले बताएकी छिन् । उनले भनिन्, ‘हामी वैचारिक रुपमा मजबुत नभएसम्म पार्टी मजबुत हुँदैन । त्यसैले अब सबैलाई बैचारिक रुपमा जोड्न जरुरी छ ।’

मेचीनगर १ मा सम्पन्न मिसन ग्रासरुट कार्यक्रमको अध्यक्षता वडा कमिटीका अध्यक्ष भरत तामाङले गरेका थिए भने मञ्जु भण्डारी प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । अभियानमा एमाले प्रदेश कमिटी सदस्य तथा निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, केन्द्रीय खानेपानी विभाग सदस्य सन्तोष आचार्य, मेचीनगर अध्यक्ष राजु पोखरेल, वडा इन्चार्ज पासाङ तामाङ र मेचीनगर १ का वडा अध्यक्ष राम कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनालीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा इन्चार्ज पासाङ तामाङले राखेका थिए । साथै, कार्यक्रम सञ्चालन सचिव जग्गन नाथ भण्डारीले गरेका थिए ।