शिव पाञ्चायन मन्दिरमा फागुन १२ देखि महापुराण


बाहुनडाँगी । मेचीनगर–२ स्थित दीपज्योति टोलको शिव पाञ्चायन मन्दिर समितिको आयोजनामा भोलि (फागुन १२ गते) देखि सात दिवसीय श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ ।

मन्दिर समितिले पुराणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोजक समितिले पुराण सफल पार्न मन्दिर समितिका अध्यक्ष गीता शिवाकोटीको संयोजकत्वमा १५१ सदस्यीय पुराण आयोजक मूल समिति तथा विभिन्न उपसमिति गठन गरेर प्रचारप्रसारलाई तीब्र पारेको छ ।

समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट निर्माणाधीन शिव पाञ्चायन मन्दिरको निर्माण कार्य पुरा गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समिति अध्यक्ष गीता शिवाकोटीले बताइन् ।

फागुन १८ गते सम्पन्न हुने सात दिवसीय महापुराणको उद्घाटन त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारी गर्ने भएका छन् । पुराणमा व्यासाचार्य पण्डित मुकुन्द नेपालले संगीतमय कथा वाचन गर्ने भएका छन् भने उपवाचक पं. लक्ष्मीरमण खतिवडाले पाठ वाचन गर्ने छन् ।

हरेक साँझ भजन कीर्तत तथा झाँकी प्रदर्शन हुने आयोकले जनाएको छ । फागुन १२ गते शुक्रवार बिहान ९ बजे बिभिन्न झाँकीसहित शोभा यात्रा निकालिने र दिउँसो २ बजे कार्यक्रम उद्घान हुने आयोजक समितिले जनाएको छ । शोभा यात्रा मल्याचोक हुँदै भृकुटी, बाहुनडाँगी बजार भएर पातालगंगा पुगेर पुनः पुराण स्थल फर्किनेछ ।

प्रचार प्रसार समितिले नगरका बिभिन्न ठाउँमा पुगेर प्रचारलाई व्यापक बनाएको र सबै भक्तजन महानुभावलाई पुराणमा सहभागी भइदिन अनुरोध गरिरहेको प्रचारप्रसार समितिका संयोजक होमनाथ गौतमले जानकारी दिए । आयोजकले ९ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ ।

त्यसैगरी, समितिले तारानाथ ढुंगेलको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरेको छ । त्यसैगरी, मण्डप व्यवस्थापन समितिको संयोजकमा तुलसीराम शिवाकोटी रहेका छन् ।

स्थानीय समाजसेवी ठाकुरप्रसाद शिवाकोटीले १ कठ्ठा र सदानन्द मिश्रले २ धुर जमिन निःशुल्क प्रदान गरेपछि २०७४ सालमा शिव पाञ्चायन मन्दिर निमार्ण सुरु गरिएको भएपनि आर्थिक अभावका कारण सो मन्दिर हालसम्म कुर्सी पिलर मात्र उठाइएको छ ।

मन्दिर समिति तथा स्थानीय र कीर्तन मण्डलीको सहयोगमा मन्दिर परिसरको स्तरउन्नति गरिएको थियो भने वडा तथा मेचीनगरबाट २ लाख ४० हजार रकम उपलब्ध भएपछि कुर्सीपिलरको काम मात्र पुरा भएको समितिले जनाएको छ । सो क्षेत्रमा स्थानीयले २०६७ सालदेखि नमूना एकता कीर्तनमण्डली गठन गरेर समाजमा धार्मिक जागरण अभियान तथा सत्यंग, भजन कीर्तन समेत गर्दै आएको छन् ।