प्रथम भद्रपुर झापा गोल्डकप : आयोजक भद्रपुर ब्लेजर्स विजयी


भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको पहिलो खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २-० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे । मेसुके ओलोमोउलेको पासलाई डिबक्समा रहेको स्टफनले गोलमा परिणत गरे । दोस्रो गोल ८० औँ मिनेटमा आयोजकका मेसुकेले गरे ।

खेलको सुरुवाती समयदेखि नै आयोजकले पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो । यद्यपि पहिलो हाफमा आयोजकले गोल गर्न सकेन । आयोजकले पाएका मौकालाई जयगाउँले विफल बनाइदियो । दोस्रो हाफमा आयोजकले जयगाउँको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भए ।

पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

विजयी भएको आयोजक भद्रपुर ब्लेजर्स अब क्वाटर फाइनलमा मंलबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबारको खेल विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा फागुन १६ गतेसम्म हुनेछ । गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

प्रथम भद्रपुर झापा गोल्डकपलाई चौधरी ग्रुपको मुस्ताङ बियरले मुख्य प्रायोजन गरेको छ ।

उपप्रधानमन्त्रीबाट उद्घाटन

मुस्ताङ भद्रपुर–झापा गोल्डकप आइतबारबाट सुरु भएको छ । भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे । उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए । उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए ।

उद्घाटन समारोहमा आयोजक भद्रपुर–झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले गोल्डकप मेची रंगशालाको पुनर्जीवनका लागि भएको बताए । उनले यो गोल्डकपले भद्रपुरको निरासाजनक व्यापारलाई पनि सुधार गर्ने अपेक्षा गरेको बताए ।

गोल्डकप उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले मेची रंगशालाले खेलाडी उत्पादनमा ठूलो काम गरेको बताए । उनले यहाँ चर्चित खेलाडीले खेल खेलिसकेको बताए । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायतले बोलेका थिए ।