मेचीनगर प्रमुख/उपप्रमुखद्वारा विद्यालयको दुईतले पक्की भवन शिलान्यास


मेचीनगर । झापाको मेचीनगर-७, गोमनसरी स्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बन्ने भएको छ । आइतबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा उक्त दुई तले चारकोठे पक्की भवनको शिलान्यास गरेका हुन् ।

मेचीनगरको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७८/०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट निर्माणधिन भवन सम्पन्न हुँदा अरनिको माध्यमिक विद्यालयमा अध्ययान गर्न विद्यार्थीहरूलाई थप सहज हुने मेचीनगर प्रमुख बुढाथोकीले बताए ।

प्राथमिकताका आधारमा अरनिको माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण कार्यक्रमका लागि बजेट पारेको बताउँदै उनले आफ्नो लक्ष्य समग्र मेचीनगरको शैक्षिक गुणस्तर र विकासका निम्ति लागिपरेको बताए ।

भवन अभावले विद्यालयको शैक्षिक गतिविधिमा समस्या भइरहेको बताउँदै स्थानीय अभिभावकहरू भन्छन् अब नवनिर्मित चारकोठे पक्की भवन बनेपछि विद्यालयमा सहज हुने विश्वास लिएका छौँ ।

शिलान्यास कार्यक्रममा मेचीनगर उपप्रमुख उप्रेती, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, अरनिको माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल अधिकारी, प्रधानाध्यापक विशाल भट्टराईलगायतको उपस्थिति रहेको थियोे ।