नकआउट फुटबल प्रतियोगिता : जिर्मले फुटबल क्लब विजयी


मेचीनगर । झापाको मेचीनगर-३ स्थित बडाखालमा आजबाट नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज भएको उद्घाटन खेलमा जिर्मले फुटबल क्लब इलाम विजयी भएको छ । आयोजक क्लब ‘बि’ लाई २-१ गोल अन्तरले पराजित गर्दै जिर्मले इलाम विजयी भएको हो ।

खेलको १६ औं मिनेटमा सामुएल लिम्बूले गोल गर्दै जिर्मलेलाई अग्रता दिलाएका थिए । त्यस्तै ३२ औं मिनेटमा सुदिप राईले अर्को गोल गर्दै जिर्मलेको अग्रता दोब्बर बनाए । आयोजक नवज्योति युवा क्लबको तर्फबाट ५४ औं मिनेटमा निशान प्रधानले सान्त्वना गोल फर्काए ।

खेलको म्यान अफ द म्याच बिजेता टिमका सुशील राई घोषित बने । उनले नगदसहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन शत्रअघि प्रेस क्लब मेचीनगर र आयोजक बिच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । जसमा आयोजकले ५-० गोल अन्तरले पत्रकारको टिमलाई पराजित गरेको थियो ।

क्लबको ३० औँ बार्षिक उत्सवको अवसरमा नेपाल र भारतका टिम सम्मिलित प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । नवज्योती युवा क्लबका अध्यक्ष सुमन थापाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन शत्रको कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ३ का वडाध्यक्ष हर्क बस्नेत, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा आयोजक नवज्योती युवा क्लबको ‘ए’ र ‘बि’ गरी २ वटा टिम सहित भारतको दार्जिलीङबाट प्रकाश ११ फुटबल क्लब, इलामको जिर्मले फुटबल क्लब, न्यु स्टार क्लब बुद्धशान्ति, शनिश्चरे फुटबल क्लब, बिर्तामोड फुटबल क्लब, ब्रर्दश युनाइटेड चन्द्रगढी ,न्यु स्टार क्लब खोपवाडी र रोलिङ क्लब धुलाबारीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

मेचीनगर-३ स्थित नवज्योती अधारभुत विद्यालयको प्रांगणमा जारी प्रतियोगिता फागुन ९ गते समापन हुने छ । प्रतियोगिताको विजेता टोलीले नगद ८१ हजार र उपविजेता टोलीले ५१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा आइतबारको खेल विर्तामोड फुटबल क्लब र प्रकाश ११ दार्जिलीङ्ग भारत बिच हुने आयोजकले जनाएको छ ।