मेचीनगर : अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारीलाई कार्वाही, लाखौं राजस्व संकलन


मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्र हुने अवैध नदि दोहनमा कडाइ गरिएको छ ।

नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउन यता मेची, निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कार्वाही शुरु गरेको छ ।

नगरपालिकाले सात महिनाको अवधिमा मात्रै अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी ओसारपसार गर्ने सवारी साधानलाई नियन्त्रणमा लिइ २ लाख ६५ हजार राजस्व संकलन गर्न सफल भएको मेचीनगर राजस्व उपशाखाको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार नगरपालिकाले स्टक प्रमाणित नगरी मेची, निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी साउन महिनामा १५ हजार, भदौ महिनामा १५ हजार, कात्तिक महिनामा २५ हजार, पुस महिनामा ६० हजार र माघ १० गतेसम्म १ लाख ५० हजार राजस्व संकलन भएको छ ।

नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने टिमाइ, हडिया, निन्दा र मेची नदिमा विगतदेखि नै आई ई.ई गरि मापदण्ड अनुसार ठेक्का लगाएर ढुंगा, गिट्टी र बलुवालगायतका नदिजन्य पदार्थहरू उत्खनन गर्दै आएकोमा त्यस विपरीत कार्य गर्नेलाई अहिले धमाधम कार्वाही गर्दै जरिवाना गर्न थालिएको नगरकार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक चित्रकुमार धिमालले जानकारी दिए । उनका अनुसार अहिले नगरपालिकाले ट्रयाक्टर, टिपर र जेसिभीलगायतका सवारी साधानलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको बताए ।

नगरपालिकाले अहिले नगर क्षेत्रभित्र पर्ने टिमाइ, हडिया, निन्दा र मेची नदिमा आई ई.ई गरि ठेक्का प्रक्रिया अगाडी बढाई सकेको छ । जसमा मेची र हडिया खोलामा ठेक्का लागि सम्झौता हुन बाँकी रहेको छ । निन्दा र टिमाई खोलामा ठेक्काको प्रक्रिया अगाडी बढ्ने क्रममा रहेको छ ।