राइसिङ्ग पुल तत्काल बन्ने


मेचीनगर । विगत लामो समयदेखि निर्माण हुन नसकिरहेको झापाको मेचीनगर ४ स्थित बाहुण्डाँगीमा पर्ने राइसिङ्ग पुल अब भने बन्ने भएको छ ।

पुल नबन्दा सर्वसाधारणलाई समस्या भएको भन्दै निवर्तमान प्रदेश साँसद श्रीप्रसाद मैनाली, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतकाे टोलि आज पुल निर्माण स्थलमा नै पुगेर डिई रमेशकुमार श्रेष्ठ , सम्बन्धि वडा मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, २ का वडाध्यक्ष दिपक बराल, भौतिक पुर्वाधार विकास समिति मेचीनगर अध्यक्ष चित्र धिमाल, ४ का वडा सदस्य पवन बराइली, सरोकारवाला निकाय, ठेकेदार, स्थानीयबासी एकै ठाउँमा उपस्थित भएर पुल निर्माण कार्य तत्काल बढाउने भएको छ ।

प्रदेश सरकारको तर्फबाट पुल निर्माणका लागि ठेक्का लागि ठेकेदारले निर्माण कार्य समेत सुरू गरेको भएता पनि त्यसले निरन्तरता नपाउँदा अहिलेसम्म पुलको जग समेत उठ्न सकिरहेको छैन् । त्यसको तत्काल निर्माण कार्य अगाडि बढाइ सर्वसाधारणलाई सहज रूपमा आवतजावतमा गर्ने वातावरण मिलाउन ठेकेदार कम्पनीलाई भनिसकेको निवर्तमान प्रदेश साँसद मैनाली बताउँछन् ।

निर्माण कम्पनी सफल विल्डर्सले समयमा निर्माण कार्य सम्पादन नगर्दा मेचीनगर वडा नम्बर २ र ४ का बासिन्दाले आवतजावतमा समस्या झेल्नु परिरहेको मेचीनगर प्रमुख बुढाथोकी बताउँछन् । विगतमा जे कारणले पुल निर्माणमा ढिलाइ भएको भएता पनि अब भने त्यस्तो छुट निर्माण कम्पनीलाई नरहेको उनले बताए ।

त्यस्तै उपप्रमुख उप्रेतीले नागरिकको दैनिकी संग प्रत्यक्ष जोडिएको व्यस्त सडक मध्येको यो पुल निर्माण सम्पन्न हुँदा सबैलाई आवतजावतमा सहज हुने बताइन् ।

तत्कालीन प्रदेश साँसद मैनालीको पहलमा प्रदेश सरकारबाट विनियोजित ७ करोडको बजेटमा ठेक्का लागि निर्माण कार्य समेत सुरू गरेको भएता पनि कोरोना भाइरसले समयमा पुल बन्न नसकेको ठेकेदार टंक गजुरेल बताउँछन् । उनले अब निर्माणकार्य तत्काल अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दै ७० लाखको रड लिइ सकेको बताए ।