एमालकोे तर्फबाट झापा १ ‘ख’ मा घिमिरेको दावी


इटाभट्टा । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापा क्षेत्र नं. १ ‘ख’ बाट नेकपा एमालकोे तर्फबाट प्रदेश सभाको उम्मेद्वार बन्न युवा नेता हरि घिमिरेले  दावी गरेका छन् ।

उनले खबरमञ्चसँग कुराकानीमा झापा क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभाको उम्मेद्वार बन्ने  दावी गरेका हुन् ।
युवा नेता घिमिरे विद्यार्थी कालदेखि नै बामपन्थी राजनीतिमा लागेका थिए । उनी वि.सं. २०४६ सालमा आन्दोलनको क्रममा पक्राउ पनि परेका थिए । उनले भने– ‘०४६ सालमा म जेल पर्दा भर्खर कक्षा ९ मा पढ्दै थिए ।’

उनले नेकपा एमाले निकट युवा संघको विभिन्न पदमा बसेर जिम्मेवारी वहन गर्दै पार्टीको क्षेत्रीय कमिटीको सचिवालयसम्मको जिम्मेवारी सम्हाली सकेका छन् । उनले युवा संघको ७ नम्बर इलाकाको संयोजक, युवा संघको जिल्ला कमिटि सदस्य हुँदै युवा संघको जिल्ला सचिवको जिम्मेवारीमा बसेको र पार्टीको वडा कमिटि, नगर कमिटी हुँदै क्षेत्रीय कमिटीको सचिवालय सदस्यसम्मको जिम्मेवारीमा बसिसकेका छन् ।
उनले राजनीतिमा युवाको प्रतिनिधित्व गराउन र प्रदेशको आवश्यकता र महत्व माथि प्रकाश पार्नलाई प्रदेशको उम्मेद्वार बन्ने इच्छा व्यक्त गरेको बताए ।

उनले नेपाली संस्कृति र पर्यटन विषयमा स्नात्तकोतर पनि गरेका छन् । उनले हाल त्रिदेव बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी समालिरहेका छन् ।

झापा क्षेत्र नं. १ ‘ख’ बाट एमालेका तर्फबाट उम्मेद्वार बन्नका लागि प्रदेश कमिटी सदस्य घनश्याम अधिकारी, लक्ष्मी राई , जिल्ला कमिटी सदस्य रेणुका डाँगी र अग्रज महिला नेत्री लता प्रसाईं लगायतका नेताहरुको पनि चर्चा रहेको छ ।

एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मापदण्ड निर्धारण गरेको छ । एमालेको हालै बसेको केन्द्रीय कमिटी बैठकले मापदण्ड तयार पार्दै यहि २२ भदौभित्र उम्मेद्वार सिफारिस गर्न मातहतका निकायलाइ निर्देशन दिएको छ ।
एमालेले पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुन बमोजिमको योग्यता भएको व्यक्तिलाई उम्मेद्वार बनाउन सक्ने मापदण्ड तोकेको छ ।

बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेद्वारको सिफारिस गर्न निर्देशन गरेको छ । क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित सिफारिस गर्न निर्देशन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

गुरुङका अनुसार सिफारिस गर्दा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ । यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकालाई फेरि नदोहोर्याउने निर्णय पनि गरेको छ । उसैगरी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव प्रेम सम्बाहाम्फे र माओवादीका युवा नेता राजन चिमरियाको नाम चर्चामा रहेको छ ।