काँकरभिट्टा–लौकही चारलेन सडक निर्माण पुसदेखि


मेचीनगर । काँकरभिट्टादेखि लौकहीसम्म एकसय २० किलोमिटर लम्बाई सडकको स्तरोन्नतीका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुनेछ ।
शुक्रबार मेचीनगर नगरपालिकाको सभाहलमा काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नती आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।
सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतीको आयोजनाका विषयमा जानकारी गराएका थिए ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सुरु गर्न लागेको सो आयोजनाको विस्तृत अध्ययान र चार लेनको सडक निर्माणको स्तरोन्नती एसियाली विकास बैँकले लगानी गर्ने भएको छ ।
यो आयोजना झापा, मोरङ र सुनसरी जिल्लामा हुनेछ । काँकरभिट्टाको मेची पुलबाट सुरु हुने सडक निर्माण लौकहीमा गएर समापन हुनेछ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नती हुनेछ ।
पूर्वपश्चिम राजमार्गको केन्द्रबाट २५÷२५ मिटरका सडकमा स्तरोन्नती हुनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ । जसमा ग्रामिण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाईको सडक क्षेत्र हुने गरिको निर्माण प्रस्ताव मन्त्रालयले गरेको छ ।
आयोजनाले झापाको काँकरभिट्टा, ईटाभट्टा, चारआली, बिर्तामोड, चारपाने, लक्ष्मीपुर, सुरुङ्गा, कोटीहोम, दुधे, झिलझिले, पाडाजुङ्गी, दमक । मोरङको उर्लाबारी, मंगलबारे, पथरी, कानेपोखरी, बेलबारी, लालभित्ती, विराटचोक, सलकपुर तथा सुनसरीको इटहरी, पकली, झुम्का, इनरुवा र लौकहीसम्म सडक विस्तार गर्नेछ ।
आयोजनाले सडक स्तरोन्नतीका लागि २८ अर्व १७ करोड ८९ लाख ७१ हजार १२७ रुपैयाँ लाग्ने जनाएको छ । पुसदेखि सुरु हुने सो आयोजना ३ वर्षमा सकिनेछ ।
सडकमा पर्ने वनजंगल, मन्दिर, घरटहरा, मलामी घाट लगायतका सरचना, वन्यजन्तुको वासस्थान, हिड्ने बाटो र निर्माणमा हुने वातावरणिय असर लगायतका विषयमा आज जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल भएको थियो ।
छलफलमा वडाध्यक्षहरु कृष्णराज सिग्देल, प्रलादमणि ओली, बाबुलाल सुब्बा, वडा सदस्य, समाजसेवीहरु राजन चिमरिया, बन्धनकुमार मुण्डा, गाणेश खरेल लगायतले सडक स्तरोन्नती गर्दा देखिने समस्या र समाधानका विषयमा जिज्ञासा राखेका थिए ।
सरोकारवाला र जनप्रतिनिधिहरुको जिज्ञासालाई टोली प्रमुख श्रेष्ठ, ईन्जिनियर सौरभ ढुंगाना लगायतले सहजीकरण गरेका थिए । सार्वजनिक सुनुवाईको अध्यक्षता नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले गरेका थिए ।