प्रधानमन्त्री आए पनि गुन्द्रीमै बसाउँछु : वडाध्यक्ष कार्की


झापा  । “मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाई हुन् मेचीनगर नगरपालिका वडा नं। ४ का अध्यक्ष अर्जुनकुमार कार्कीको ।

गत वैशाख ३० गते स्थानीय चुनावबाट उहाँ वडाध्यक्ष निर्वाचित हुनुभएको हो । त्यसयता सो वडामा प्रधानमन्त्री आएका छैनन् । तर, जे जति उच्च पदस्थ अतिथिहरु वडा कार्यालयमा आइपुगेका छन्, उनीहरु सबैलाई कार्कीले कुर्सीमा होइन, परालको गुन्द्री र मकैको खोसेलाबाट निर्मित पिरामा बसाउने गरेका छन् ।

भारतबाट मेची नदी तरेर सयको संख्यामा दिनका दिन जंगली हात्तीको हुल भित्रिने गौडाको रुपमा मुलुकमै परिचित बाहुनडाँगी क्षेत्रमा कार्की वडाध्यक्ष छन् । विहानदेखि बेलुकासम्म यहाँका बासिन्दाको तनमन हात्तीबाट कसरी जोगिने भन्ने ध्याउन्नमै हुन्छ । वडाबासी शिक्षा, स्वास्थ्य, रोजगारी र किनमेलका लागि टाढा सहरी क्षेत्र काँकडभिट्टा, धुलावारी, विर्तामोड या भारतको नक्सलबाडी पुग्न बाध्य छन् ।

“वडाबासी अहिले खाए भरे के खानु भन्ने अवस्थामा छन्, उच्च शिक्षा पढ्ने एउटा क्याम्पस छैन, मानव–हात्ती द्वन्द्वले जनजीवन आक्रान्त छ,” कुर्सीको साटो गुन्द्री र पिरामा बसेर वडा कार्यालय सञ्चालन गर्दै आउनु भएका कार्की भन्छन्–“जनताको यस्तो हालत रहेको बेला म कसरी बीसौं हजार खर्चेर घुम्ने कुर्सीमा बस्न सक्छु रु”

वि.संं. २०७९ जेठ १२ गते खोसेलाको पिरामा बसेर वडाध्यक्षमा पद बहाली गर्दा उनी समाचारमा भाइरल बने । स्थानीयदेखि राष्ट्रिय तहका सञ्चारमाध्यमहरुले ‘कुर्सी हटाएर पिरामा बस्ने अनौठो वडाध्यक्ष’ भनेर चर्चा गरे । कतिपयले ‘सस्तो लोकप्रियताका लागि नटिक्ने ढर्रा’ भन्दै सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गरे ।

वडाध्यक्षको पदबहालीदेखि अहिलेसम्म कार्कीले कार्यालयमा कुर्सी प्रयोग गरेका छैनन् । सेवाग्रहीको निवेदनमा तोक लगाउने नियमित कामकाजदेखि वडाको बैठक बस्दा समेत घरेलु गुन्द्री र पिरा छाडेका छैनन् । कार्यालयमा आउने पाहुनालाई पनि उनँले गुन्द्री र पिराकै व्यवस्था मिलाउने गरेका छन् ।

“कसैलाई देखाउन मैले ढर्रा गरेको होइन, पाँच वर्षे कार्यकाल गुन्द्री र पिरामै बिताउने संकल्प बोकेर जनताको सेवामा जुटेको छु,” उनी भन्छन्–“बाहिर आउने गरेका नराम्रा प्रतिक्रियाबाट म हतोत्साहित छैन र राम्रा प्रतिक्रियाबाट हौसिएको पनि छैन । म बिलासी जीवन बिताउन वडाध्यक्ष बनेकै होइन । जनताको घरमा चुल्हो नबल्ने अवस्था छ । म चाहिँ तिनै जनताको तिरोबाट घुम्ने कुर्सी किनेर वाहियात खर्च गर्न चाहन्न ।”

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरेर बाहुनडाँगीलाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा नमुना गाउँ बनाउने सपना साँचेका वडाध्यक्ष कार्की बिगत दुई दशकदेखि ग्रामीण पर्यटन र वातावरण संरक्षण क्षेत्रका अभियन्ता हुन् ।

वडाध्यक्ष भएपछिको तीन महिनाभित्रै उनको वडामा कोलकातास्थित नेपाली महाबाणिज्य दूत ईश्वरीराज पौडेल, पूर्वोत्तर भारतका चर्चित पर्यटन अभियन्ता राज बसु लगायतका पाहुना भ्रमणमा आए ।

साउन ११ गते आएका महावाणिज्य दूत पौडेललाई वडाध्यक्ष कार्कीले गुन्द्रीमै बसाएर शिष्टाचार भेटघाट र पर्यटन प्रबर्धन सम्बन्धी छलफल गरे । त्यसैगरी, खाँदबारी नगरपालिका वडा नं। ४ का वडाध्यक्ष बिनोद सुब्बा भगिनी सम्बन्ध स्थापनाका लागि आए । दुबै वडाबीचको भगिनी सम्बन्धको दस्ताबेज आदानप्रदान समेत गुन्द्री र पिरामै बसेर गरिएको थियो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती वडा कार्यालयको निरीक्षणमा पुग्दा उनलाई वडाध्यक्ष कार्कीले पिरामा बसाउँदै वडाबासीका समस्या सुनाए । गत जेठ २० गते उनले नेपाल भारत सीमाको दशगजा नजिक मेची नदीको किनारमा पत्रकार सम्मेलनको आयोजना गरी वातावरण संरक्षणबारे आफ्ना योजनाहरु सुनाए । उक्त पत्रकार सम्मेलनमा समेत वडाध्यक्ष कार्कीले मकैको खोसेलाबाट बनेको पिरामा बसेर पत्रकारहरुको सवालको जवाफ दिएका थिए ।

बाहुनडाँगी बजारमा रहेको वडा कार्यालयमा उनले २० वटा पिरा र छ वटा गुन्द्री राखेका छन् । वडा कार्यालयको अहिलेसम्म भएका डेढ दर्जन बढी बैठक गुन्द्री–पिरामै बसेर गरिएको कार्कीले जानकारी दिए । पिरामा बस्न असजिलो हुने शारीरिक अशक्त र ज्येष्ठ नागरिकहरुका लागि बाँसका मुडाको व्यवस्था गरिएको उनले बताए ।

गुन्द्री र पिरा स्थानीय सामानहरु मकैको खोसेला, सुपारीका पात र परालले बनाइएका हुन्छन् । गुन्द्री–पिरा अभियानबाट वडाबासी खुशी भएको कार्कीको बुझाई छ । उनी भन्छन्–“घरेलु हस्तकला र शीपको सम्मान र प्रबर्धनमा यो अभियानले सघाउ पुर्याएको छ ।”

ज्येष्ठ नागरिकहरुलाई निःशुल्क बितरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको खाँदबारीको वडा नं। ४ र तेह्रथुमबाट उनले घुँघुरोका ४०० वटा लौरो मगाएका छन् । वडालाई हराभरा र सुन्दर बनाउन फुल फुल्ने प्रजातिका एक लाख बिरुवा आफ्नो कार्यकालभरिमा हुर्काउने उनको योजना छ ।