प्रकाशकीय : हामी सातौँ बर्षमा


मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक सातौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको छैटौँ बसन्त पार गरी सातौँ वर्षमा प्रवेश गरेको हो ।
२०७३ साउन १० गते झापा जिल्ला प्रकाशन कार्यालय झापाबाट अस्थायी दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन शुरु गरिएको हो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन शुरु गरिएको हो । खबरमञ्च साप्ताहिकले शहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई विशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिएको छ । ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर जिल्लामा धेरै दैनिक र साप्ताहिक पत्रिकको भीडबाट सात वर्ष अघि प्रकाशन सुरु भएको यो पत्रिकाले ग्रामीण पत्रकारितालाई प्राथमिकता दिएर आवाजविहीनहरुको आवाज बन्दै आएको छ ।
कोरोना भाइरसको संक्रमणबाट सञ्चारमाध्यम तहसनहस बनेको अवस्था छ । अझ छापा सञ्चारमाध्यमको अवस्था नाजुक छ । समयक्रम अनुसार अधिकांश छापा माध्यमले पनि अनलाइन संस्करण सञ्चालन गरे । खबरमञ्च साप्ताहिकले पनि लकडाउनकै समयममा खबरमञ्च अनलाइन डटकम सञ्चालन गरेको हो । हामी पनि अनलाइन माध्यमबाट जनतालाई समाचार प्रवाह निरन्तर गरिरहेका छौँ ।
अनलाइन पत्रकारितामा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न हाम्रो भूमिका कमी छैन । तर, हाम्रो चिन्ता छापा सञ्चारमाध्यमको रफ्तारमा लागेको ‘डिस् ब्रेक’ हो । कोरोना महामारीका कारण छापा सञ्चारमाध्यममा लागेको ‘डिस् ब्रेक’ का कारण राजधानीबाट सञ्चालित नाम चलेका धेरै साप्ताहिक पत्रिका सधाको लागि बन्द भए । छापा सञ्चारमाध्यमको इतिहास बोकेका अधिकांश पत्रिका बन्द पत्रकारिताले ठूलो क्षति व्यहोर्नु पर्यो ।
नेपालमा २०४६ सालको परिवर्तनसँगै फस्टाएको पत्रकारिता २०७२ सालमा संविधान सभाबाट नयाँ संविधान जारी भइसक्दा समेत गुणस्तरीयतामा फड्को भने मार्न सकिरहेको छैन । अहिले झापामा सञ्चार माध्यम धेरै छन् । तर, गुणस्तर मापनमा पछाडि छन् । कोठे पत्रकारिताका कारण पत्रकारको क्षमतामा झन् कमजोर बनिरहेको हाम्रो बुझाई छ । समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । अबको नेपाली पत्रकारिता सन्देश र जानकारी भन्दा पनि खोजमूलक हुनुपर्छ । पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताकोे विकल्प छैन । नेपालमा पत्रकारका विविध कामलाई व्यवस्थापन गर्न जरुरी छ । खोज पत्रकारिताको विकाससँगै पत्रकारहरुको सुरक्षाको चुनौती पनि उत्तिकै छ । यी सबै कुरा चिर्न खबरमञ्च साप्ताहि लागिपरेको छ ।
सञ्चारमाध्यमको विकास र बृद्धिसँगै पत्रकारको संख्या बढ्दै जाँदा ती पत्रकारको क्षमता विकास, पेशाप्रति जवाफदेही र जिम्मेवार बनाउनुपर्ने दायित्व स्वयम् आफुसँँग मात्र छ । यहाँ समाचार लेखेको आधारमा नभएर फेसबुकको स्टाटस्मा लाइक कमेन्टको आधारमा पत्रकारको श्रेणी मापन गरिन्छ । यसबाट आउने दिनहरूमा स्वतन्त्र रूपले मर्यादित पत्रकारिता गर्ने, समाजप्रति जिम्मेवारी भई आफ्नो कामप्रति उत्तरदायित्व बहन गर्ने पत्रकारिता इतिहास त बन्ने होइन भन्ने आशंका पनि हुन थालेको छ ।
हरेक चुनैतीको समाना गर्दै आम पाठकहरुलाई समाचारका माध्यमबाट हरेक विषयवस्तु प्रस्तुत गर्नु र सुसूचित गर्नु हाम्रो कर्तव्य हो । प्रकाशनको पहिलो बर्ष र कोरोना कहरका बेला सञ्चालनमा धेरै कठिनाइको सामना गर्नुपर्यो । अनेकौँ चुनौतीको सामना गर्दै आज हामी सातौँ वर्षमा प्रवेश गरेको छौँ । साप्ताहिकको रुपमा मात्र सञ्चालन भएको खबरमञ्च आजसम्म आइपुग्दा सफल सञ्चार गृह (खबरमञ्च मिडिया हाउस) बन्न सफल भएको छ । हामीले साप्ताहिकको रुपमा खबरमञ्च साप्ताहिक, डिजिटल रुपमा खबरमञ्च अनलाइन डटकम र बार्षिक रुपमा खबरमञ्च रंगीन पत्रिका प्रकाशन गर्न सफल भएको ठान्दछौँ ।
खबरमञ्चलाई थप व्यवस्थित बनाएर सञ्चालन गर्ने अभियानमा निरन्तर सक्रिय भएर लाग्ने छौँ । पत्रिकालाई थप व्यवस्थित गर्दै पठनीय बनाउन हामी प्रतिबद्ध छौँ । साथै आगामी दिनमा यहाँहरुको थप सल्लाह र सुझावको अपेक्षा गरेका छौँ ।
अन्त्यमा, पत्रिकालाई यहाँसम्म ल्याउनका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । पाठक वर्ग, शुभचिन्तक तथा विज्ञापन दाताहरुले पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सबै प्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
प्रकाश पौडेल : प्रकाशक/सम्पादक