सचिवको विवाह उत्सवमा लायन्स क्लब मेचीनगरद्वारा बिरामीलाई सहयोग


मेचीनगर । लायन्स क्लब अफ मेचीनगर तथा क्लबका सचिव सजित तामाङ र विमला तामाङको २३ औँ वैवाहिक वर्षगाँठको अवसरमा मेचीनगर क्षेत्रका चार जना बिरामीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।
लायन्स क्लब अफ मेचीनगर तथा सचिव तामाङको सहयोगमा आइतवार मेचीनगर–६ की ४४ वर्षीय लक्ष्मी खनाललाई ७५ हजार रुपैयाँ उनकै निवासमा पुगेर दिइएको छ ।
यसैगरी, मेचीनगर १२ का ब्लड क्यान्सर पीडित १९ वर्षीय राजकुमार विश्वकर्मालाई ७५ हजार, मेचीनगर–५ का ८६ वर्षीय दीर्घरोगी सरजलाल धिमाललाई २० हजार र मेचीनगर–१० की अनिता राजवंशीलाई १० हजार रुपैयाँ स्वास्थ्य उपचारका लागि सहयोग गरिएको लायन्स क्लब अफ मेचीनगरले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारमा समस्या झेलिरहेका परिवारका निम्ति क्लब तथा सचिव तामाङबाट प्राप्त सहयोगले केही भए पनि राहत पुग्ने विश्वास लिइएको छ ।
विगत ५ वर्षदेखि मुटु रोगले थलिएकी लक्ष्मी खनालको उपचारमा गरिएको यो आर्थिक सहयोगले ठूलो राहत भएको उनका श्रीमान कृष्ण खनालले बताए । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारत् विश्वकर्मालाई अस्पतालमै गएर सहयोग रकम हस्तान्तरण गरिएको हो ।
प्यारालाइसिस रोगबाट थलिएकी अनिता राजवंशीले आर्थिक सहयोग आफ्ना लागि ठूलो राहत भएको बताइन् । लामो समयदेखि दीर्घरोगबाट ग्रसित धिमालको घरमै गएर सहयोग रकम हस्तान्तरण गरेपछि उनले भावुक हँुदै सहयोगी मनलाई धन्यवाद दिएका थिए ।
वैवाहिक वर्ष गाँठलाई मानवीय सेवामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले क्लबको समन्वयमा आफूले सहयोग गरेको क्लबका सचिव तामाङले बताए । सहयोग हस्तान्तरण पश्चात भएको संक्षिप्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गर्भनर धिरज गुरुङले लायन्स क्लब सदैव मानवीय सेवामा समर्पित हुने संस्था भएकाले समाजमा संस्था र संस्थामा आबद्ध सदस्यहरुले मानवीय सेवामा जुट्न आग्रह गरेका थिए ।
कार्यक्रममा डिस्ट्रिक सेक्रेटरी लिला चिमरिया, भाइस डिस्ट्रिक गर्भनर नरनाथ सापकोटा, रिजन केयर पर्सन बाबरजंग थापा, सचिव सजित तामाङ, पत्रकार पर्वत पोर्तेल र लक्की तामाङले आ–आफ्नो धारणा राखेका थिए ।
१ लाख ८० हजार रुपैयाँ मध्ये तीस हजार लायन्स क्लबका सदस्यहरुबाट संकलन गरिएको भाइस प्रिसिडेन्ट नवराज प्रधानले बताए । क्लबका सहसचिव अभिजित दवाडीको सञ्चालन र अध्यक्ष मोहन मैनालीको सभापतित्वमा कार्यक्रम भएको हो ।
संस्थाले विभिन्न समयमा सामाजिक क्षेत्रमा अन्य सरोकारवाल निकायसँग समन्वय गरेर विविध सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत गर्दै जाने इन्टर नेशनल रिलेसनसीप चेयरमेन डम्बर खवासले बताए । कार्यक्रममा संस्थापक अध्यक्ष शंकर थापा, निवर्तमान अध्यक्ष सन्तोष आचार्यलगायतको उपस्थिति रहेको थियो ।