मेचीनगरमा २५ सय बढी बंगुर मरिसके, ‘नगरपालिकाले गुनासो पनि सुन्न मानेन’
बाहुनडाँगी । बंगुरमा देखिएको महामारी अफ्रिकन स्वाइन फिभर रोग नियन्त्रण हुन नसक्दा मेचीनगरका बंगुर पालन व्यवसायी समस्यामा परेका छन् । उक्त महामारीले बंगुर भटाभट मर्न थालेपछि बंगुर पालन कृषक मारमा परेका हुन् ।
मेचीनगर बंगुर पालन कृषक समूहका अनुसार मेचीनगरमा उक्त महामारीबाट झन्डै २ हजार ५ सयभन्दा बढी बंगुर मरिसकेका छन् । रोग नियन्त्रणमा सरकारी निकायले चासो नदेखाउँदा कृषकहरुले पालेका बंगुर मरेका हुन् ।
मेचीनगर बंगुर पालन कृषक समूहले विहीबार बाहुनडाँगीमा पत्रकार सम्मेलन गरेर बंगुर व्यवसायबाट हातधुने अवस्था सिर्जना भएको बताइयो । बंगुर व्यवसायमा गरिएको लाखौँ रकम डुब्ने अवस्थामा पुगेको समूहका अध्यक्ष सनम राईले बताए ।
‘बंगुर व्यवसायीका समस्या न त वडाले देख्यो, नत नगर सरकारले नै देख्यो,’ उनले भने, ‘खोरमा पालिएका बंगुर भटाभट मर्दा समेत मेचीनगर नगरपालिका माथिको आदेश लिएर आउनू अनि मात्र रोगको पहिचान गरौँला भनेर पन्छिने गर्छ ।’ यस्तो जवाफ पाउँदा बंगुर कृषक व्यवसायी दुःखी भएको उनले बताए ।

मेचीनगर बंगुर पालन कृषक समूहले विभिन्न सात बुँदे माग राखेका छन् । उनीहरुले सरकारी निकायबाट कृषकका लागि छुट्याइएको हरेक कार्यक्रममा कृषिलाई बर्गीकरण गर्न माग गरेका छन् ।
यस्तै, रोगको पहिचान गरी निकारण गर्न, बजारको उचित व्यवस्थापन गर्न, कृषकलाई प्राविधिक तालिम दिएर नश्ल सुधार गराउनु पर्ने, हरेक वडामा पशु प्राविधिकको व्यवस्था गर्न र खोरेत रोगका तथा सबै प्रकारका भ्याक्सिनहरु उपलब्ध गराउन माग गरिएको छ ।
बंगुर व्यवसायका समस्या मेचीनगर नगरपालिकालाई जानकारी गराए पनि चासो नदेखाएको समूहका सचिव पुनम राईले बताए । उनले बंगुर कृषकलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बताए ।
मेचीनगर बंगुर पालन कृषक समूहमा २५ जना कृषक आबद्ध छन् । अरु ४० बंगुर पालन कृषकहरु पनि जोडिने क्रममा छन् । बंगुर पालन कृषकहरुको व्यवसाय प्रवद्र्धन गर्न मेचीनगरका कृषकहरु संगठित भएका हुन् ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


