एकैपटक बाह्र जना क्रियाशीलले छाडे कांग्रेस


मेचीनगर। मेचीनगर वडा नं. ७ बाट नेपाली कांग्रेसका १२ जना क्रियाशील सदस्यले एकैपटक पार्टी छाडेका छन् ।
कांग्रेसले सिद्धान्त र विचार नमिल्ने दलहरुसँग कुर्सीको स्वार्थ राखेर गठबन्धन गरेको हुँदा पार्टीमा निष्ठापूर्वक लागिरहेका इमान्दार कार्यकर्ताले बस्ने अवस्था नभएको उनीहरुको भनाई छ ।
नेकपा एमाले मेचीनगरको नगरस्तरीय चुनाव परिचालन कमिटीको कार्यालय इटाभट्टामा शुक्रवार आएर बाह्रै जनाले एमाले प्रवेश गरेका छन् ।
एमालेमा प्रवेश गर्नेहरुमा शंकर राजबंशी, सागर अग्रवाल, रुबेन निरौला, रोहन गौतम, रोमन अधिकारी, नुमिता बिर्जा, चिन्ता बिर्जा, समारी बिर्जा, मेनुका बिर्जा, तारा बिर्जा, कुन्ती बिर्जा र आशिष ढुंगेल रहेका छन् ।
एमाले प्रदेश कमिटी सदस्य बन्धन मुण्डा, जिल्ला सचिवालय सदस्य चन्द्र प्रसाई र जिल्ला सदस्य दिनेश राजबंशीले पार्टी प्रवेश गर्नेहरुलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
मेचीनगर वडा नं. ७ मा वडाध्यक्ष पदमा नेकपा एमालेले लोकप्रिय युवा प्रह्लादमणि ओलीलाई उम्मेद्वार बनाएको छ ।
सो वडामा कांग्रेस, माओबादी र नेकपा एस छाडेर एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको र नेकपा एमालेको जित सुनिश्चित भएको वडाध्यक्ष ओलीले जानकारी दिए ।