मेचीनगर–४ ले बुझायो विद्यार्थीको बस भाडा


मेचीनगर  । मेचीनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत मेचीनगर–४ की तुलसा कडरियालाई विद्यालयमा मासिक रुपमा बुझाउनुपर्ने यातयात खर्चले चौबीसै घण्टा पिरोलिरहन्थयो ।
हजारौँ रुपैयाँ महिनै पिच्छे तिर्नु उहाँका लागि चानचुने कुरा थिएन् । कडरियासँगै सोहि वडाकी सलिना मंग्रान्तीलाई पनि यस्तै पीडा थियो ।
कक्षा १२ मा अध्ययनरत सेविका मंग्रान्ती हरेक महिना आफ्ना अभिभावकसँग पैसा माग्नुपर्ने बाध्यता थियो । समयमै यातायात खर्च बुझाउन नसक्दा पढाईबाट बञ्चित हुनुपर्ने पो हो कि भन्ने लागेरै सबैले समयमै विद्यालयमा यातातयात खर्च बुझाउथे ।
झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत मेचीनगर –४ का विद्यार्थी अब यी सारा समस्याबाट मुक्त भएका छन् । अब कसैले पनि विद्यालयलाई यातयात वापतको खर्च बुझाउनु पर्दैन् । यसले उनीहरुमा निक्कै ठूलो राहत पुगेको कक्षा ११ मा अध्ययनरत आर्यन कडरियाको भनाई छ ।
झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत मेचीनगर–४ का ८३ जना विद्यार्थीको वार्षिक यातायात खर्च मेचीनगर–४ नम्बर वडा कार्यालयले व्यहोरेको छ ।
मंगलबार विद्यालय परिसरमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा वडानम्बर–४ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक नविन वरालले विद्यालयका निमित्त प्रधानध्यापक हरिप्रसाद न्यौपानेलाई तीनलाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
चेक ग्रहण गर्दै प्रधानध्यापक न्यौपानेले मेचीनगर–४ बाट यस विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थीहरुका लागि एकमुष्ट यातायात खर्च व्यहोरेको भन्दैं वरालप्रति कृतज्ञता र वड ानम्बर ४ लाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले हरेक विद्यार्थीमाथि वडाले गरेको लागानी खेर जान नदिन ती विद्यार्थीहरुलाई दक्ष जनशक्तिका रुपमा उत्पादन भएर आफ्नै वडामा केही गरेर देखाउन आग्रह समेत गर्नुभयो ।
वडा कार्यालयले हरेक विद्यार्थीहरुले गुणस्तरीय शिक्षा हासील गर्न सकुन् र भविष्यमा एक असल नागरिक भएर वडाका लागि केही गरुन भन्ने उद्देश्यसहित रकम हस्तान्तरण गरिएको न्यौपानेको भनाई छ । अनुशासनमा रहेर असल चालचलनको विकास गरेर भविष्यमा आफ्नो वडाको शिर नझुक्ने गरी काम गर्न समेत विद्यार्थीहरुलाई आग्रह गरे ।
वडाध्यक्ष वरालले आफ्ना वडाका कुनै पनि विद्यार्थी कुनै कारणले उच्च शिक्षाबाट बञ्चित हुनु नपरोस भनेर उनीहरुमा यति ठूलो लगानी गर्नुपरेको बताए । उनले आफ्ना व्यक्तिगत तथा वडाकै तर्फबाट जस्तासुकै सहयोग विद्यार्थीहरुका लागि हुने भन्दैं नराम्रो काम र कुलतमा नफस्न सबैमा अनुरोध गरे ।
आफ्नो वडाका विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि वडाले केहि न केहि सोचेको उनले स्पष्ट पारे । आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास दिलाउनुभयो । प्रधानध्यापक न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक भगिरथ राईले गरेका थिए ।