जसपाका प्रदेश सदस्यसहित पाँचसय बढी माओवादीमा प्रवेश


मेचीनगर । नेकपा माओवादी केन्द्रले लिएको नीति, विचार र सिद्धान्तप्रति पछिल्लो समय व्यापक आकर्षण बढेको छ । पार्टी प्रवेश गर्ने लहर नै चलेकाले पहिलो पार्टी बन्न सकिन्छ भनेर ढुक्कका साथ माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा होमिएको हो ।

यही नीति र सिद्धान्त बोकेर माओवादी मेचीनगरले आफ्ना चुनावी गतिविधि वडा केन्द्रित गरेको छ । विगतमा माओवादी केन्द्रले उठाएका संघीयता तथा समावेशी मुद्धालाई जनतामा बुझाउन पार्टीका नेताहरु घरदैलोमा पुगेका छन् ।

बिहीवार मेचीनगरको एउटा वडाबाट ठूलो संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मेचीनगर वडा नंं २ मा नेकपा एमाले, जसपाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जसपाका प्रदेश कमिटी सदस्य जगत घिमिरेसहित पाँचसय भन्दा बढी कार्यकर्ताले माओवादी केन्द्र रोजेका हुन् ।

वडा नं.२ का शंकर बस्ती, दिपज्योति टोल तथा बौद्धमोडका बासिन्दा माओवादी केन्द्रमा प्रवेश गरेको नगर कमिटी उपाध्यक्ष उत्तम सिठुङले बताए । विकासका नाममा अरु पार्टीले सपना बाँडेर आफूहरुलाई जहिले पछि पारेको माओवादी केन्द्रमा प्रवेश गरेका राजपाका नेता घिमिरेले बताए । अन्य पार्टीको सपनाका पछि नकुद्न उनले आग्रह पनि गरे ।

ठूलो संख्यामा प्रवेश गरेका उनीहरुलाई बिहीवार भृकुटीमा आयोजित एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको छ । नेकपा माओवादी केन्द्र मेचीनगर कमिटीको दोस्रो विस्तारित बैठकमा पार्टी प्रवेशको लहर चलेको हो । कार्यक्रम सञ्चालकले नाम बोलाइरहँदा पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको थियो ।

विस्तारित बैठकले विभिन्न निर्णय पनि गरेको छ । नगर कमिटीलाई पूर्णता दिँदै नगरका १५ वटै वडामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । नगर कमिटी ८१ सदस्यीय बनाइएको छ भने २६ सदस्यीय नगर सचिवालय बनाइएको नगर कमिटी सचिव ज्ञानेन्द्र घिमिरेले जानकारी दिए ।

यस्तै, चुनावलाई लक्षित गरी वडा हुँदै टोल कमिटी विस्तारलाई तिब्रता दिने माओवादी केन्द्र मेचीनगर कमिटीले निर्णय गरेको छ । माओवादी केन्द्र मेचीनगरमा थप बलियो र पहिलो शक्तिका रुपमा उदाउने दाबी गरिएको छ ।

यस्तै, पार्टीलाई टोलसम्म बलियो बनाउन नेता तथा कार्यकर्ता सक्रिय भएर लागेका छन् । बलियो जनमत सिर्जना गरेर पहिलो पार्टी बन्नेगरी निर्वाचन परिचालन कमिटी बनाइएको छ । उक्त कमिटीको संयोजकमा पुरुषोत्तम चुडाल छन् ।

पार्टीका नगर कमिटी अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य पुरुषोत्तम चुडालले अब माओवादी केन्द्रमा प्रवेशको लहर चलिरहेकाले पहिलो शक्ति बन्ने दाबी गरे । उनले विगतमा पार्टीले उठाएका मुद्धा जनताको पक्षमा रहेको बताए । जनताले त्यही भएर माओवादी केन्द्र रोजेको उनको भनाई छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी झापाका संयोजक राजु आचार्य (अग्नी) ले काँग्रेस, एमाले पार्टीले जनता झुक्याउने काम गरिरहेको आरोप लगाए । उनले ती पार्टीले छरिरहेका भ्रमका पछि नलाग्न आग्रह पनि गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता प्रकाश भण्डारी, मेचीनगर इन्चार्ज पुष्प गुरागाईं, जगत घिमिरे, सोमती रसाइली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य इन्दीरा कार्की, क्षेत्रीय संयोजक माधव अर्याल, नेताहरु इन्द्र सुब्बा, राजु दाहाल, नारायण सुवेदी, शान्तिराम चिमरिया, नरेन्द्र मेचे, रामहरि नेपाल लगायतको आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्र नगर कमिटी सचिव ज्ञानेन्द्र घिमिरेले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष उत्तम सिठुङले गरेका थिए ।