सार्वजनिक जग्गा हडपेर नम्बरी बनाउने होलिवेल स्कूलको चलखेल

धुलाबारी । धुलाबारी बजार छेउमै रहेको टिमाई खोला नजिकको सार्वजनिक जग्गा हडपेर नम्बरी बनाउने चलखेल भएको छ ।
मेचीनगर वडा नंं ९ धुलाबारी खानेपानी कार्यालय पछाडि रहेको नदी उकास जमिन अन्तर्गतको करिब १५ कट्ठा जमिन अतिक्रमणको चपेटामा परेको हो । उक्त जग्गा सार्वजनिक खेल मैदानको रुपमा प्रयोग हुँदै आएको थियो ।
सुरुमा त्यहाँ नदी उकास जमिनमा छुने गरी प्लटिङ गरिएको थियो । उक्त जग्गा सुरुमा हेमन्त प्रसाईं र संगीता प्रसाईंले तारा कार्कीलाई बेचेर प्लटिङ गरेको बुझिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर अहिले नम्बरी बनाएको स्थानीय विमल काफ्लेले बताए । ‘हामीले जान्दा उक्त जग्गा नदी उकास र ऐलानी हो,’ उनले भने, ‘तर, अहिले आएर उक्त जग्गा कसरी व्यक्तिको भयो हामी आश्चर्यमा परेका छौँ ।’
नदी उकास उक्त जग्गामा अहिले आएर स्थानीय होलिवेल अंग्रेजी स्कूलले नम्बरी जग्गा भन्दै पक्की पिलर उठाएर घेराबारा गरेको स्थानीयले बताए । त्यहाँ उक्त बोर्डिङ स्कूलले खेल संरचना निर्माण गर्न थालेको छ । स्थानीयका अनुसार होलीबेल स्कूलले जग्गा खरिद गरेर संरचना बनाउन लागेको बताउँदै आएको छ ।
तर, होलिवेल स्कूलले भने नम्बरी जग्गा किनेर खेल मैदान बनाउन लागिएको दाबी गरेको छ । स्कूलले उक्त जग्गा १२ वर्ष अघि खरिद गरेको जनाएको छ । विद्यालयका सुरज कार्कीले खरिद गरेको जग्गाको धनीपूर्जा आउने क्रममा रहेको बताए । उनले विभिन्न व्यक्तिहरुबाट उक्त जमिन किनेको र आफूहरुले त्यहाँ खेल मैदान बनाउन लागिएको बताए ।
स्थानीयले उक्त सार्वजनिक जग्गा भूमाफिया र नापी कार्यालयको मिलेमतोमा नम्बरी बनाएको हुनसक्ने दाबी गरेका छन् । स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै खबरदारी लेखिएको ब्यानर राखेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उक्त जग्गा नम्बरी बनाउने गिरोहलाई कारवाही गरी सरकारी सम्पत्ति फिर्ता गर्न माग गरिएको छ ।
टिमाई खोला छेउको नदी उकास जमिन नम्बरी बनाउने चलखेल भएपछि स्थानीयले जग्गा दर्ता रोक्का गरिपाउँ भनी मेचीनगर नगरपालिकालाई निवेदन दिए पनि सुनुवाई भएको छैन ।
स्थानीय निर्मल अधिकारीले टिमाई खोला छेउको नदी उकास जमिन नम्बरी बनाएको भन्दै रोक्का गर्न माग गरेका हुन् । उनले यस विषयमा मेचीनगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीलाई भेटेर निवेदन पेश गरेका थिए । तर, पनि निवेदनउपर सुनुवाई भएको छैन । उल्टै अहिले त्यहाँ बालुवा गिट्टी थुपारेर संरचना बनाउने काम भइरहेको छ ।
स्थानीयबासी अधिकारीले नदी उकास जग्गा दर्ता रोक्का गर्नुपर्ने भन्दै भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय झापालाई बोधार्थ दिएका छन् । उक्त निवेदन माघ ४ गते दर्ता गराएका हुन् ।
धुलाबारीको चाँदनी चोक पश्चिम मेची आम्दा जाने बीच भएर टिमाई खोला बगेको छ । उक्त क्षेत्रमा पनि करिब १० कट्ठा नदी उकास जमिन नम्बरी बनाइएको बताइएको छ । छेउमै जग्गा प्लटिङ गरी नालासमेत पुरेर बालुवा थुपार्ने काम भइरहेको छ । नालाको भाग नराखी जथाभावी रुपमा काम गर्दा समेत स्थानीय सरकार मेचीनगर चुपचाप बस्नु आश्चर्य भएको स्थानीय मिलनराज प्रसाईले बताए ।
‘हामीले सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्छ भनेर धेरै पटक कुरा उठायौँ,’ उनले भने, ‘तर कहीँ कतैबाट सुनुवाई भएको छैन ।’ उनले यस्ता जग्गा संरक्षण गर्न राजनीतिक दलहरुले पनि सशक्त आवाज उठाउनु पर्ने बताए । तर, यो विषयमा मेचीनगरका राजनीतिक दलहरु मौन देखिन्छन् ।
https://www.facebook.com/100003046247681/videos/7722985527713322/

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...