कालिका वनको चुनाव : अध्यक्षमा योगेश र विशुलाल भिड्दै


धाइजन, ८ फागुन । मेचीनगर–११ र १२ स्थित कालिका सामुदायिक वनको निर्वाचन नजिकिएसँगै उम्मेद्वारहरुले घरदैलो अभियानलाई तीब्र पारेका छन् ।

यहि फागुन ११ गते बुधबार हुने निर्वाचनमा प्रगतिशील संघीय गणतान्त्रिक प्यानल र प्रगतिशील लोकतान्त्रिक प्यानल मैदानमा उत्रिएका छन् ।

प्रगतिशील प्यानमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लिम्बुवान, संघीय गणतान्त्रिक मोर्चाले निर्वाचनमा तालमेत गरेका छन् ।

यता प्रगतिशील लोकतान्त्रिक प्यानलमा नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपा रहेका छन् ।

प्रगतिशील संघीय गणतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा माओवादीका योगेश भट्टराई मैदानमा छन् । यसअघि दुई कार्यकाल अध्यक्षको भूमिका सफलता पूर्वक निर्वाह गरी सकेका भट्टराईले आगामी कार्यकालमा गर्ने नयाँ योजनासहितको २७ बुँदे घोषणा पत्र जारी गरेर आफ्नो सिंगो प्यानललाई विजयी गराउन आग्रह गरिरहेका छन् ।

भट्टराईले सिमसार तथा रवर खेतीको लागि आधुनिक व्यवस्थापन गर्ने, सो क्षेत्रमा रहेका खुद्रा पसलहरुलाई वैज्ञानिक ढंगले व्यवस्थित गर्ने, वन क्षेत्रमा रहेका जिर्ण मठमन्दिरलाई पुनःनिर्माण गर्ने, अतिविपन्न परिवारलाई घर बनाई दिने कार्यक्रमलाई निरन्तरता दिने, आकर्षक फूलबारी र फोटोसुट निर्माण गर्ने लगायतका २७ बुँदे योजना घोषण पत्रमा समेटेका छन् ।

सो प्यानलबाट उपाध्यक्षमा गंगादेवी सिमखडा मेचे, सचिवमा निर्मला गुरुङ निरु, सहसचिवमा बिनोद मेचे र कोषाध्यक्षमा साउन मेचे(बादल) उम्मेद्वार छन् । उपाध्यक्ष मेचे माओवादी पार्टीबाट छन् । त्यसैगरी सचिव गुरुङ स्वतन्त्र उम्मेद्वार हुन्, सहसचिव मेचे माओवादीबाट र कोषाध्यक्ष बादल माओवादीबाटै उम्मेद्वारी बनेका हुन ।

१५ सदस्यीय प्रत्यक्ष निर्वाचित कार्यसमिति रहने समितिको सदस्यहरुमा क्षेत्र नम्बर १ देखि ४ सम्म दुई–दुई जना सदस्य तथा ५ र ६ मा १, १ जना सदस्य छन् । क्षेत्र १ मा जसपाबाट दुर्गाप्रसाद लिम्बू, माओवादीबाट यसोदा गौतम, २ मा लिम्बूवानबाट विनोद राई, र देवीमाया बर्देवा माओवादीबाट, ३ मा लोकबहादुर मेचे माओवादीबाट र निर्मला पाठक एकीकृत समाजवादीबाट, ४ मा भोला चौधरी र दिपा थापा दुबै माओवादीबाट उम्मेद्वारी दिएका छन् । त्यसैगरी ५ मा लिम्बूवानबाट डम्बरबहादुर जवेगु र ६ नम्बरमा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार पदम लामिछानेले उम्मेद्वारी दिएका छन् ।

यता प्रगतिशील लोकतान्त्रिक प्यानलमा एमालेले नेतृत्व गरेको छ । सो प्यानलबाट अध्यक्षमा विशुलाल मेचेले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा एमालेकै संगिता चौधरी, सचिवमा नेपाली काँग्रेसकी मुना धिमाल, सहचिवमा खेमराज राई र कोषाध्यक्षमा काँग्रेसका अनिल मेचे मैदानमा छन् ।

त्यसैगरी सदस्यहरुमा क्षेत्र नम्बर १ बाट एमालेका विरबहादुर लिम्बू, राप्रपाकी दुर्गा लिम्बू, क्षेत्र नम्बर २ बाट एमालेका लालबहादुर कार्की र काँग्रुेसकी देवीमाया उप्रेती, ३ मा एमालेका गजेन्द्र सुन्दास र काँग्रुेसकी पम्फा गुढाथोकी, ४ मा नेकाका ज्ञानबहादुर भूजेल र एमालेकी रामवती चौधरीले सदस्य पदमा उम्मेद्वारी दिएका छन् । त्यसैगरी ५ मा काँग्रेसका कैलाश थापा र ६ मा एमालेका कालिदास राजवंशी छन् ।

२१२ हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा दुई हजार २५० जना उपभोक्ता छन् । वन भित्र १३ हेक्टरमा सिमसार क्षेत्र छ । उपभोक्ता समूहले भरपर्दाे पर्यटकीय गन्तव्यको रुपमा सो क्षेत्रको विकास गरिरहेको छ ।