एकै पटक दुईवटा दमकल थप्ने मेचीनगरको तयारी


मेचीनगर । मेचीनगर नगरपालिकाले दुई वटा दमकल भित्राउने योजना सार्वजनिक गरेको छ ।
भएका दुईवटा मध्ये एउटा कवाडीमा परिणत भइसकेको र अर्कोले आगो निभाउन नभ्याउने अवस्था सिर्जना भएपछि नगरपालिकाले नयाँ दुईवटा दमकल एकैचोटी भित्राउने योजना अघि बढाएको हो ।
नगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना उप्रेतीले सोमवार सर्वपक्षीय बैठकको आयोजना गरेर नयाँ दमकल खरिद गर्ने घोषणा गरे ।
नगरपालिकाको सभाहलमा आयोजित बैठकमा नगरप्रमुख आचार्यले एउटा अत्याधुनिक दमकल नगरपालिका आफैले खरिद गर्ने र अर्को एउटा दमकलका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग कुराकानी अघि बढिरहेको जानकारी दिए ।
‘एउटा दमकल आन्तरिक मामिला मन्त्रालयसँग माग गरिएको छ,’ नगरप्रमुख आचार्यको भनाई थियो–‘अर्को एउटा दमकल चाहिँ नगरपालिका आफैले खरिद गर्छ ।’
नगरले खरिद गर्ने दमकलमा ३००० लिटर क्षमताको पानी र ग्याँस फ्याक्ने प्रविधि जडान भएको हुने र त्यसका लागि प्रक्रिया सुरु भइसकेको उनको दावी छ ।
‘खरिद गरिने दमकल आउन केही प्रोसेसहरु पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने–‘डकुमेन्टेसन भइसकेपछि एक महिनाभित्र दमकल डेलिभरि हुने रहेछ ।’
जेठमा हुने स्थानीय चुनाव अगावै नयाँ दमकल भित्राइसक्ने नगरपालिकाको योजना छ ।

कामै नलाग्ने गरि ‘कर्वाडी’ बनिसकेको पुरानो दमकल

यसैगरी, उपप्रमुख मीना उप्रेतीले आइतवार प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पुगेर एउटा दमकल माग गरिएको र त्यसमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिइन् ।
हाल झापामा आठ वटा दमकल छन् । कतिपय नगरपालिका र अधिकांश गाउँपालिकासँग दमकल छैनन् ।
मेचीनगर आफैले खरिद गरेको पुरानो दमकल थोत्रिएर थन्किएको छ । त्यसलाई मर्मत सम्भार गरेर चलाउन नसकिने प्राविधिक सुझाव आएको बताइएको छ ।
सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधिहरुले नगरपालिकालाई कुराभन्दा काम गरेर देखाउन सुझाव दिएका छन् ।
नेकपा एमालेका जिल्ला सदस्य डिल्लीराम घिमिरेले नगरपालिकामा सुधार गर्नु आवश्यक रहेको विषयमा दलहरुले बुझाएको ज्ञापन दराजमा थन्काइएको दावी गरे ।
‘तपाईहरुको पेलाहा प्रवृत्ति छ,’ घिमिरेले नगरका प्रमुख र उपप्रमुखको कार्यशैलीको आलोचना गर्दै भने–‘यो यो सुधार गर्नुहोस् भनेर बुझाइएको ज्ञापन पत्र लगेर थन्काउनु भयो ।’
उनले दमकल प्रकरणमा नगरपालिकाले मर्मत सम्भारमा ढिलासुस्ती गरेर नगरबासीको आक्रोश निम्त्याएको दावी गर्दै काँकरभिट्टामा प्रमुख र उपप्रमुखको नामै किटेर विरोधमा नाराजुलुस लाग्दा आफुलाई दुःख लागेको बताए ।


नेकपा माओबादी मेचीनगरका सचिव ज्ञानेन्द्र घिमिरेले काँकरभिट्टामा दमकल नजाँदा भएको आन्दोलनमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको उल्लेख गर्दै नगरपालिकाले जनताका समस्याको समाधानमा ध्यान दिन आवश्यक रहेको बताए ।
सर्वपक्षीय बैठक आगलागीका घटना, दमकल बिग्रिएको अवस्था र नगरपालिकाले गर्नु पर्ने कामका विषयमा केन्द्रित थियो ।
काँकरभिट्टा, धुलावारी र चारआलीको खानेपानी समितिका पदाधिकारीहरुले दमकललाई आवश्यक पर्ने पानीको व्यवस्थाका लागि जुनसुकै सहयोग पुर्याउन संस्था तत्पर रहेको बताएका थिए ।
बैठकमा नगरप्रमुख आचार्यले बिग्रिएको दमकल बनाएर आइसकेको हुँदा सकारात्मक सन्देश पुर्याइदिन राजनीतिक दल र सञ्चार जगतलाई आग्रह गरेका थिए ।