मेरो कामको मूल्यांकन नगरबासीले गरिरहनु भएको छ– नगर प्रमुख आचार्य


 

स्थानीय सरकार जनप्रतिनिधिले सञ्चालन गरेको करिब साढेचार वर्ष बितेको छ । पाँच वर्षे कार्यकाल पूरा गरेर अहिलेका जनप्रतिधि विदा हुँदैछन् । यसबीचमा मेचीनगर नगरपालिकामा के कति काम भए ? यसै विषयमा केन्द्रित रहेर मेचीनगर प्रमुख विमल आचार्यसँग पत्रकार झुलन रेग्मी, प्रकाश पौडेल र खगेन्द्र घिमिरेले गरेको कुराकानी :

मेचीनगरको समग्र कार्य प्रगतिको अवस्था कस्तो छ ?
मेचीनगरको कार्य प्रगति समग्र रुपमा सन्तोषजनक छ । पूर्वाधारको हिसाबले चारवर्षको तुलनामा धेरै कामहरु सम्पन्न भएका छन् । सबै क्षेत्रहरु सडक सञ्जालबाट जोडिएका छन् । यो आर्थिक वर्षको अन्त्यसम्म सय किमिभन्दा बढी सडक कालोपत्रे सम्पन्न हुँदैछन् । सीमित बजेट र जनशक्तिको हिसाबमा यो काम तीव्र रुपमा अघि बढेको छ । यो तथ्यमा आधारित छ । समग्रमा हाम्रो ५ वर्ष कस्तो रह्यो भन्ने कार्यप्रगतिसहितको पुस्तक पनि हामी प्रकाशन गर्दैछौं र चाँडै नगरवासीको हात–हातमा पुर्याउँदैछौं ।

नगरवासीको आवश्यकता पूरा गर्न नगर प्रमुखको हैसियतले के कस्ता योजना सम्पन्न गर्नुभयो ?
हाम्रा आवश्यकताहरु धेरै छन् । तीमध्ये मूलभुत आवश्यकताहरु पूरा गर्न नगर सरकार लागिपरेको छ । शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयलाई प्राथमिकतामा राखी योजनाहरु बनाउने र सम्पन्न भएका छन् । कृषिका लागि सिञ्चाईँ, स्वास्थ पिउने पानी, नदी नियन्त्रणका लागि तटबन्धन लगायतका विषय हाम्रो प्राथमिकतामा परेका छन् । नगरवासीको सम्पूर्ण घरघरमा विद्युत विस्तार गरिएको छ । उज्यालो मेचीनगरका लागि हाम्रा योजनाहरु छन् । १, २, ३ र ४ नम्बर वडामा विद्युत विस्तार कार्य तीव्र रुपमा अघि बढेको छ । प्राथमिकताका आधारमा योजनाहरु बनिरहेका छन् ।

ग्रामीण क्षेत्रका नगरवासीको जीवनस्तर उकास्न नगरपालिकाको भूमिका कस्तो रह्यो ?
विकास भनेको बाटोघाटो, पुल निर्माण, भौतिक संरचना निर्माण मात्रै होइन । विकास जनतासँग जोडिएको विषय हो । मेचीनगरका अधिकांश भूगोल ग्रामीण क्षेत्रमा पर्ने भएकाले त्यहाँका जनताको जीवनस्तर उकास्नका लागि नगरपालिकाले योजनाहरु बनाइरहेको छ । रोजगार, शिक्षा, स्वास्थ्य क्षेत्रमा जनताको पहुँच, कृषिमा आत्मनिर्भर बनाउन नगरले भूमिका निर्वाह गरिरहेको छ । त्यसका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौँ । महिला सीप विकास केन्द्रको पनि स्थापना गरेका छौं । यो सञ्चालनको तयारीमा छ । युवाहरुलाई तालिम दिएर व्यावसायिक बनाउने योजना छ ।

तपाईं निर्वाचित हुनुअघिको मेचीनगर र अहिलेको मेचीनगरमा के फरक भयो ?
निर्वाचित हुनुभन्दा अगाडि नगरको स्वरुप फरक थियो । स्थानीय तहको रुपमा स्थानीय सरकारको जिम्मेवारीको रुपमा प्रमुख हैसियतले म निर्वाचित भएँ । नगरको छुट्टै कानून थिएन । नगर सरकार सञ्चालनको लागि सबैसँग सहकार्य गर्दै नीति नियम पनि बनाउनुपर्ने थियो । अहिले यी सबै कुरा पूरा भएका छन् । विकासका पूर्वाधारमा नगरले फड्को मारेको छ । योजनाहरु बनाइरहँदा राजनीतिक भागबण्डाले असर पुर्याएको छ । सोचेअनुरुपको योजनाहरु सम्पन्न गर्न गाह्रो छ । तर पनि उल्लेख्य कामहरु भएका छन् । म नगरको प्रमुख भए पनि बहुमत मसँग छैन । जसका कारण योजनाहरु अपेक्षा अनुरुप अघि बढ्न सकेका छै्रनन् ।

नगरमा विकास निर्माणको अवस्था कस्तो छ ?
मेचीनगरमा सूर्यको पहिलो किरण पर्छ । नेपाल प्रवेशको पहिलो द्धार पनि मेचीनगर नै हो । यो त्रिदेशीय मार्ग पनि हो । सम्भावनाको खानी छ । सबै कुरामा हाम्रो नगर अगाडि छ । तर, केन्द्रको प्राथमिकतामा हाम्रो नगर पर्न सकेको छैन । आधारभूत रुपमा आउनुपर्ने बजेट मात्रै नगरले पाएको छ । नगरले केही पहल गरेर थोरबहुत बजेट ल्याएको छ । तर, बजेट पर्याप्त नहुँदा आवश्यकता अनुसारको काम अघि बढाउन समस्या भइरहेको छ । यो वर्षको अन्त्यसम्म उत्तर र दक्षिणका सबै मार्गहरु कालोपत्रे भइसक्ने छन् । मेचीनगर करिडोरको काम पनि सुरु हुँदैछ । झापा मार्गमा कालोपत्रे गर्ने काम पनि सुरु हुँदैछ । भृकुटीदेखि बाहुनडाँगीसम्मको सडक कालोपत्रे भइसकेको छ । पर्यटकीय नगरी बनाउन मिनी माउन्टेन, कृष्णथुम्कीमा आवश्यक कामहरु भइरहेका छन् । पातालगंगा तथा घैलाडुब्बा मन्दिर संरक्षणको कामहरु अघि बढेका छन् । नगरमा जीर्ण अवस्थामा रहेका अन्य धार्मिकस्थलहरुको संरक्षण र सम्वद्र्धन गर्ने कार्य भइरहेको छ ।


स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा आधारभूत स्वास्थ्य चौकी निर्माण भइरहेका छन् । काँकरभिट्टाको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने काम पनि भइरहेको छ । धुलावारी र आम्दालाई पनि थप स्तरोन्नति गर्ने काम भइरहेको छ । लालपानीमा २५ करोडको लगानीमा अस्पताल बन्दैछ । नगरमा शिक्षाको अवस्था उत्कृष्ट छ । नगरभित्र रहेका विद्यालयमा आवश्यक भौतिक पूर्वाधार तथा आवश्यक शैक्षिक सामग्रीमा नगरले सहयोग गरिरहेको छ । नगरमा रहेका तीनवटा सामुदायिक क्याम्पसलाई फरकफरक विधामा स्थापित गराउनका लागि स्तरोन्नति गरिएको छ । खानेपानी क्षेत्रमा मेचीनगर सहआयोजना अन्तर्गत ७२ करोड रुपैयाँको लागतमा खानेपानी विस्तार कार्य अघि बढिरहेको छ ।
कृषि मण्डीको लागि १२ करोड रुपैयाँको लागतमा काम अघि बढेको छ । मेचीनगर–२ बौद्धमोड बजारमा कृषि बजार र चारआलीमा लाग्ने आइतबारे बजारलाई अत्याधुनिक र व्यवस्थित कृषि बजार बनाउन टेण्डर लाग्ने प्रक्रियामा छ । पाटापुरमा झोलुंगे पुलको काम अघि बढेको छ । अन्य क्षेत्रमा पनि झोलुंगे पुलको काम अगाडि बढाइएको छ ।
चिया मजदुरका समस्या समाधानका लागि नगरले पहल गरेको छ । सोलार फेन्सिङको काम मेची नदीमा व्यवस्थित गरिएको छ । चारआली, मागुरमाडी हुँदै बहुबनसम्म हात्ती करिडोरको काम अगाडि बढेको छ । वर्षौंदेखि हात्तीको समस्याबाट प्रताडित नगरवासीले करिडोर निर्माणसँगै शान्ति सुरक्षाका साथ बाँच्न पाउने छन् ।
खेलकुद क्षेत्रमा हामीले सोचेजति काम गर्न सकेनौँ । खेलकुद विकासका लागि मन्त्रालयसँग बजेट माग गर्न जाँदा विवादका कारण बजेट ल्याउन सकिएन तथापि खेलकुद क्षेत्रको विकासका लागि वडागत रुपमा खेलको विकासमा नगरपालिकाले योगदान पुर्याएको छ । साहित्य क्षेत्रको विकास र उत्थानका लागि थप कार्यक्रमहरु अघि सारिएको छ ।

तपाईंले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा आए त ?
मैले दुई प्रकारका घोषणा पत्र जारी गरेको थिएँ । एउटा दस्तावेजको रुपमा र अर्को मौखिक । घोषणापत्र अनुसार काम अधिकतम् रुपमा भएका छन् । तर, अहिले बहुमत र अल्पमतका कारण सबै योजनालाई अघि बढाउन सकिएन । सबैको राय, सल्लाह र सुझावका आधारमा बजेट विनियोजन गर्नुपर्ने भएका कारण सबैलाई समेटेर कार्यक्रमहरु तर्जुमा गरियो र त्यही अनुरुप बजेट विनियोजन गरी कार्यक्रम अघि बढाइयो ।

प्रदेश र केन्द्र सरकारबाट कस्तो सहयोग पाउनुभयो ?
हाम्रो नगर सबै विषयमा अगाडि भए पनि बजेट पाउने सवालमा हामी सबैभन्दा पछाडि पर्यौंँ । बजेट ल्याउने विषयमा मैले प्रदेश र केन्द्र सरकारका मन्त्रालयसँग भेटेर त्यहाँका प्रतिनिधिसँग पटक–पटक कुरा राखेको छु । त्यही पहलकदमीबाट केही बजेटहरु प्राप्त गरेका छौं । तर, सोचेअनुरुप भने बजेट ल्याउन नसकिएकै हो ।

तपाईं फेरि नगर प्रमुखमा उठ्ने चर्चा चलिरहेको छ नि ?
मैले यो कार्यकालमा गरेको कामको मूल्यांकन सम्पूर्ण नगरवासीले गर्नुभएकै छ । त्योबेला प्रमुखको उम्मेद्वारी दिँदा पनि प्रतिबद्धता गरेका धेरै कार्यक्रमहरु तथा योजनाहरु सम्पन्न गरेको छु भन्ने मलाई लागेको छ । सम्पूर्ण नगरवासीको अपेक्षा र चाहना अनुसार म अगाडि बढ्नेछु । यहाँहरुको सुझाव र मागलाई शिरोधार्य गरेर प्रमुख पदमा उठ्ने या नउठ्ने कुरा निर्धारण हुनेछ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
नगरको विकास तथा नगरवासीको हितका निमित्त मेचीनगर सदैव जिम्मेवार रुपमा प्रस्तुत हुनेछ । नगरको समृद्धिका लागि नगरवासी, राजनीतिक दललगायत सम्पूर्ण संघ संस्थाको सल्लाह र सुझाव अनुसार अघि बढ्ने विश्वास व्यक्त गर्दछु ।