सञ्चालनमा आयो मेचीनगरको मागुरमाडी सिमसार


धुलाबारी । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २६ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
साथै, सोही अवसरमा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन समेत गरिएको छ । उद्घाटनसँगै वन समूहको सिमसार क्षेत्र पर्यटकका लागि खुला भएको छ । साधारण सभा तथा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन मेचीनगर प्रमुख विमल आचार्यले गरेका हुन् ।

वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूले साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्ताको हितमा ल्याइएका कार्यक्रमहरु सम्पन्न गरिएको उल्लेख छ । यस्तै, वन समूह परिसरमा रहेको मागुरमाडी पर्यापर्यटन सिमसार क्षेत्रलाई सञ्चालनमा ल्याउन सकिएको उल्लेख छ ।
समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न साधारण सभामा मेचीनगर प्रमुख विमल आचार्यले वन समूह र नगरपालिकाबीचको समन्वयमा वन विकास गर्न सकिने बताए । उनले मेचीनगर क्षेत्रभित्र रहेका वनहरुको गतिविधिलाई समेटेर नगरपालिकाले पुस्तक सार्वजनिक गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, मेची सव डिभिजन कार्यालय प्रमुख राजन राई, मेचीनगर वडा नं. ९ का वडाध्यक्ष गोपाल खड्का, वडा सदस्य इन्द्र प्रधान, खुट्टीडाँगी सामुदायिक वनका अध्यक्ष टंकबहादुर नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वन समूहका उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कमला गौतमले गरेकी थिइन् । वार्षिक साधारण सभाको अवसरमा उपभोक्तालाई सिमसार क्षेत्रमा पिकनिक समेत खुवाइएको थियो ।

पाँच हेक्टर जमिनमा फैलिएको उक्त सिमसारमा दुईवटा पोखरी, वाटर फाउन्टेन, बाटोसहितको आकर्षक गार्डेन, फिसिङ डेस्क तथा पिकनिक स्पट निर्माण भएको छ । अन्य सामुदायिक वन समूहले निर्माण गरेका सिमसार क्षेत्रभन्दा यो अलिक फरक रहेको छ । सिमसार क्षेत्रमा क्रंक्रिट सामाग्रीको कम प्रयोग गरिएको र दुबो, चपरी तथा काठका सामाग्री बढी प्रयोग गरिएको छ ।

पर्यटकलाई आकर्षित गर्नका लागि ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु निर्माण गरेर राखिएको छ । भक्तपुरको पुरातात्विक वस्तुहरुको झल्को दिनेगरीका काठका सामाग्री अधिकतम् प्रयोग भएका छन् । मुख्य राजमार्गबाट करिब ४ किलोमिटर उत्तरमा पर्ने उक्त मागुरमाडी सिमसार बाँसवारी पर्यटकीय क्षेत्रसँगै जोडिएको छ ।