६२ जना महिला मानव अधिकार रक्षक पुरस्कृत


झापा । महिला अधिकारका क्षेत्रमा क्रियाशील एक गैह्र सरकारी संस्थाले झापाका तीनवटा पालिकाका ६२ जना महिला मानव अधिकार रक्षकलाई पुरस्कृत गरेको छ । काँकरभिट्टास्थित महिला जनचेतना केन्द्रले मेचीनगर नगरपालिकाका ३७, कचनकवल गाउँपालिकाका १२ र बाह्रदशी गाउँपालिकाका १३ जनालाई पुरस्कृत गरेको हो ।
कोभिड–१९ को महामारीका कारण जनजीवन अस्तव्यस्त बनिरहँदा समुदायमा अग्रपंक्तिमा रहेर सेवा पुर्याएबापत उनीहरु पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरुमा मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेती, कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशी, बाह्रदशी गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी छन् ।

जनप्रतिनिधि, सामाजिक संघसंस्था र व्यक्तिगतरुपमा समुदायलाई योगदान पुर्याएका तीनवटै पालिकाका महिला मानव अधिकार रक्षकलाई विभिन्न सामग्री प्रदान गर्दै पुरस्कृत गरिएको थियो । कोरोनाका कारण उत्पन्न विषम् परिस्थितिमा जोखिमसँग जुध्दै अग्रंपक्तिमा खटिएर गरिएको मानवीय सेवाको प्रशंसा गर्दै हौसलास्वरुप पुरस्कृत गरिएको आयोजक केन्द्रले जनाएको छ ।
पुरस्कार वितरणका लागि केन्द्रले मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाको कार्यालयलाई नामावली माग गरेको थियो ।

उक्त संस्थाले परियोजना सञ्चालन गरेको पालिकाबाट प्राप्त सिफारीसका आधारमा पुरस्कृतहरुलाई पोषिलो आहार र स्वास्थ्य सामग्री वितरण गरिएको कार्यक्रम संयोजक मणिकुमार लिम्बूले बताए ।
लिम्बूका अनुसार उनीहरुलाई प्रतिव्यक्ति ७ हजार ७ सय रुपैयाँ मूल्यका प्रेसर कुकर, वाटर फिल्टर, हर्लिक्स, च्यवनप्रास, गेडागुडी, सेनीटाइजर, मास्क, साबुन र सेनिटरी प्याड प्रदान गरियो ।

अन्तर्राष्ट्रिय दातृ संस्था अर्जेन्ट एक्शन फन्डको सहयोगमा केन्द्रबाट तीनवटा पालिकाका कूल ७० जना महिला मानव अधिकार रक्षक पुरस्कृत हुने जनाइएको छ ।   मंगलवारबाट सुरु भई बिहीवार समापन भएको सो कार्यक्रममा केन्द्रकी संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक राधा प्रधान कार्कीले औचित्यमाथि प्रकाश पारेकी थिइन् भने कार्यक्रम संयोजक लिम्बूले संस्थाको गतिविधि अवगत गराएका थिए ।
झापा क्षेत्र नं. १ ‘क’ का प्रदेश सांसद् श्रीप्रसाद मैनाली, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम र बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा छुट्टा–छुट्टै कार्यक्रम भएको थियो ।

आयोजक संस्थाकी अध्यक्ष भूवन सुब्बाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव सीता गुरुङले गरेकी थिइन् ।