मेचीनगरमै बन्दैछ २२ करोड लगानीमा एक हजार क्षमताको होल्डिङ सेन्टर


झापा । सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी झापामा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माण सुरु गरेको छ। कोरोना भाइरसको बढ्दो सङ्क्रमण र यसबाट उत्पन्न जटिल परिस्थितिपछि सरकारले सीमा नाकामा एकहजार क्षमताको होल्डिङ सेन्टरको निर्माण थालेको हो।

पूर्ववर्ती सरकारको निर्णयका आधारमा झापाको मेचीनगर–१४ दुहागढीस्थित हडिया खोला किनारमा नेपाली सेनाको प्रत्यक्ष रेखदेख र संरक्षणमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ। सरकारले कोरोना सङ्क्रमणको तेस्रो लहर आउनुपूर्व २२ करोड रुपैयाँको लगानीमा होल्डिङ सेन्टर बनाउन थालेको हो।

सुरुमा काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर बनाउने भनिएको थियो। उपयुक्त जग्गा नभेटिएपछि त्यसलाई २० किलोमिटर वर सारिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना बताउँछन्। ‘सरकारले एउटा महत्वकांक्षी योजनाका रुपमा होल्डिङ सेन्टरको निर्माणलाई प्राथमिकतामा राखेको छ’, प्रजिअ तिम्सिनाले भने, ‘सातै प्रदेशमा एकै प्रकृतिका होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा छन्।’

वडा कार्यालयले संरक्षण गरेको ११ विघा जग्गामध्ये चार विघा जग्गा होल्डिङ सेन्टरलाई उपलब्ध गराइएको मेचीनगर–१४ का अध्यक्ष शङ्कर पोखरेलले बताए। वडा कार्यालयले संरक्षित जग्गामा रंगशालादेखि कृषि अनुसन्धान केन्द्र र बाल उद्यान निर्माणको योजना अघि सारेको थियो। ‘निर्माण भएका सबै संरचना वडाकै सम्पत्ति हुने भएकाले होल्डिङ सेन्टरलाई जग्गा उपलब्ध गराएका हौँ’, वडाध्यक्ष पोखरेलले भने।

तेस्रो लहरको सङ्क्रमणको सामना गर्न पूर्व तयारीस्वरुप होल्डिङ सेन्टर बनाउनै पर्ने बाध्यता रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल बताउँछन्। ‘भारतबाट भित्रिएकालाई कहाँ राख्ने भन्ने चिन्ता भइरहेका बेला पूर्वाधारयुक्त होल्डिङ सेन्टरको निर्माण थालिएको छ’, सभापति ढकालले भने।

यसअघि कोरोना सङ्क्रमणको दोस्रो लहर चलिरहँदा पूर्वीनाका काँकडभिट्टा हुँदै हुलका हुल भारतीय क्षेत्रबाट भित्रिएका नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै सकस परेको थियो। होल्डिङ सेन्टरका रुपमा प्रयोग भएका विद्यालय वरपरका बासिन्दाले सङ्क्रमित राखिएको भन्दै विरोध पनि जनाएका थिए।

‘भारतमा सङ्क्रमण भएर फर्किएका नेपाली व्यवस्थित होल्डिङ सेन्टरको अभावमा घर–घर पुगेपछि समुदायमा कोरोना सङ्क्रमण बढेको विश्लेषण हुँदै आएको छ’, कोरोना सङ्कट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रजिअ तिम्सिनाले भने, ‘होल्डिङ सेन्टर बनेपछि धेरै समस्याको समाधान हुन्छ।’ सरकारले होल्डिङ सेन्टर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ ।

सेनाले हनुमान कन्स्ट्रक्सनमार्फत निर्माणको काम अघि बढाइरहेको हो। होल्डिङ सेन्टर निर्माणमा दैनिक दुई सय कामदार खटिएका छन्। निर्माणस्थलमा नेपाली सेनाका प्राविधिक नियमित खटिने गरेका छन्। गुणस्तरीय सामग्री प्रयोग भए/नभएको विषयमा सेनाका प्राविधिकले नियमित अनुगमन गर्ने गरेको वडाध्यक्ष पोखरेलले बताए। असार तेस्रो साताबाट निर्माण सुरु भएको होल्डिड सेन्टर भदौभित्र सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य छ।

होल्डिङ सेन्टरमा २२ वटा पक्की भवन बनाइँदैछ। सङ्क्रमितको चाहिने चिकित्सकीय उपकरणसहितको होल्डिङ सेन्टरमा अक्सिजनसहितको बेड उपलब्ध हुने रेडक्रस सभापति ढकालले बताए। भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन सङ्क्रमितलाई उपचारका लागि होल्डिङ सेन्टरमा राखिनेछ। होल्डिङ सेन्टरमा उनीहरुको स्वास्थ्य जाँच, खानपान र नियमित शारीरिक अभ्यास हुनेछ।