खबरमञ्च साप्ताहिकलाई निरन्तर यात्राको शुभकामना


पूर्वीद्वारा मेचीनगरबाट नियमित प्रकाशित ‘खबर मञ्च’ साप्ताहिक पत्रिका पाँचौ वर्ष पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सर्वप्रथम शुभकामना व्यक्त गर्दछु । युवा पत्रकार प्रकाश पौडेल सम्पादक/प्रकाशक रहनु भएको यो पत्रिकाले मेचीनगर क्षेत्रलाई केन्द्रविन्दुमा राखेर आम जनतालाई सुसूचित गराइरहेको छ । मेचीनगरको आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनका लागि खबर मञ्च पत्रिका सदैव एक कदम अगाडि उभिएको मात्रै छैन, विकासका नाममा हुने गरेका कमि कमजोरीमाथि निरन्तर खबरदारीसमेत गरिरहेको छ ।

खबर मञ्च पत्रिकाको यहाँसम्मको यात्रा त्यति सहज छैन । यो कुरा हामीलाई भन्दा पनि पत्रिका सञ्चालकले बुझ्नु भएकै छ । छापा मिडियाहरु त्यसै पनि अप्ठ्यारो परिस्थितिका बीच प्रकाशन भइरहेका छन् । कहिले पत्रिका प्रकाशन गर्न रकम अभाव, त कहिले कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा छापा मिडियाहरुले भोग्दै आएका समस्या हुन् । यी यावत समस्याका बाबजुद पनि खबर मञ्च पत्रिका प्रकाशन निरन्तर भइरहनु सुखद पक्ष मान्न सकिन्छ ।

 

पत्रिकाका सम्पादक पौडेल आफैमा पत्रकारिता विषयका विद्यार्थी हुनुहुन्छ । काठमाडौँमा बसेर पत्रकारितासमेत गर्नु भएकाले उहाँमा अनुभव र दक्षता दुवै छ । उहाँको त्यही अनुभव र दक्षताको प्रयोग पत्रिकामा देख्न सकिन्छ । पत्रिकामा समेटिएका विषय वस्तु तथा साजसज्जाले पनि त्यसलाई पुष्टि गर्दछ ।

विशेषगरी मेचीनगर क्षेत्रका गतिविधिलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गर्दै आएको खबर मञ्च साप्ताहिकले अनलाइन संस्करण पनि सुरु गरेको छ । कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा छापा माध्यम बन्द हुँदा अनलाइन संस्करणमार्फत् निरन्तर जनतालाई सही, सत्य समाचार तथा सूचना दिने काम गर्यो र गरिरहेकै छ ।

लकडाउनका कारण पत्रपत्रिका लामो समय प्रकाशन हुन सकेनन् । तर, खबर मञ्चले यस्तो विषम परिस्थितिमा ‘खबर मञ्च पर्व विशेषांक’ रंगीन पत्रिका प्रकाशन गर्यो । जुन बेला मैले पनि यस पत्रिकामा जोडिने मौका पाएँ । प्रकाशित रंगीन पत्रिकाले मेचीनगर क्षेत्रका जनप्रतिनिधिका कुरा र यसै क्षेत्रका सफल राष्ट्रिय स्तरमा चर्चित विभिन्न विधाका व्यक्तित्वका विषयवस्तुलाई समेट्ने प्रयास गरेको छ । सायद मेचीनगरबाट यतिको उत्कृष्ट रंगीन पत्रिका आजसम्म प्रकाशन भएको छैन भन्दा फरक नपर्ला । मेचीनगरका विषयवस्तुलाई मात्रै समेटेर निकालिएको खबर मञ्च म्यागजिन देखेर स्थानीय सरकार पनि मेचीनगर स्मारिका प्रकाशन गर्ने तयारीमा जुटेको सुन्नमा आएको छ ।

अन्त्यमा, प्रकाशजीलगायत खबर मञ्च साप्ताहिक टिमलाई फेरि पनि बधाइ दिन चाहन्छु । यहाँहरुको पत्रिकाको यात्रा पाँचौ होइन, पचासौँ वर्षसम्म निरन्तर अगाडि बढिरहोस् । आवाज विहीनहरुको आवाज बन्न सकोस् । बधाइ छ ।

झुलन रेग्मी
सम्पादक : जन–संसद् दैनिक
संयोजक  : प्रेस संगठन नेपाल, झापा