मेची अभियान : ‘कोभिडसँगै ननकोभिडलाई सघाऔं’


मेचीनगर । ‘कोभिडसँगै ननकोभिडलाई सघाऔँं’ भन्ने मुल नाराका साथ सामाजिक सेवामा संलग्न मेची अभियानले जुम एपमार्फत् टेलिपेथी सेवाको प्रारम्भ गरेको छ । भुकम्प, बाढी र कोरोना महामारीको पहिलो लहरमा मानवीय सेवा गरेको मेची अभियानले दोस्रो लहर बढेसँगै टेलिपेथी सेवाको प्रारम्भ गर्ने जनाएको छ ।

अभियानले यस अघि गर्दै आएका काम र कोरोना महामारीका समयमा गर्ने कार्यबारे पत्रकारहरुमार्फत् सार्वजनिक गरेको छ । नन संक्रमित दीर्घ रोगका विरामीले अस्पतालहरुबाट नियमित सेवा लिन कठिन भएको महसुश गर्दै जेठ १५ गतेदेखि दीर्घरोग पीडित विरामीलाई राहत दिने उद्देश्यले विरामी र डाक्टरको प्रत्यक्ष संवाद, समस्या र समाधान खोज्ने प्रयास स्वरुप टेलिपेथी कार्यक्रम शुरु गरेको संयोजक विजय डालमियाले बताए । आइतबार भर्चुअल माध्यमबाट अभियानले पत्रकार सम्मेलन गर्दै अभियानको उक्त कार्यमा केएचडिसी र मेचीनगर नगरपालिकाको सहकार्य रहेको संयोजक डालमियाले बताए ।

अभियानले कोरोना संक्रमण अवधीमा कोरोना संक्रमणबारे जनचेतना अभिवृद्धि गर्ने संक्रमितलाई संभव भएसम्म उपचार सहजीकरण गर्ने, कोरोनाको समयमा स्वास्थ्य समस्यामा परेका नन कोभिड बिरामीको पहिचान गरि घरैमा पुगेर जुम मार्फत् चिकित्सकसंग प्रत्यक्ष संवाद गराई उपचार प्रक्रिया शुरु गर्ने, चिकित्सकको परामर्श अनुरुप जसको आवश्यक हुन्छ , ल्याब परिक्षणका लागि अहेब स्वयंसेवक मार्फत् सेम्पल संकलन गर्ने, ल्याब परिक्षणको रिपोर्ट अनुसार चिकित्सकले निश्चित गर्ने औषधि अन्य स्वयंसेवक मार्फत बिरामीको घरमा निशुल्क रुपमै पु¥याउने, चिकित्सकले जरुरी ठहर गर्ने बिरामीलाई उपचारलागि अस्पतालसम्म पु¥याउने तथा आर्थिक रुपले कमजोर अवस्था भएका बिरामीलाई भने अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्नेलगायत का काम गर्ने जनाएको छ ।

त्यस्तै अभियानले गर्भवती महिला, सुत्केरी तथा डायलाइसिस गरिरहनु भएका बिरामीलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । अभियानले मेचीनगर, बुद्धशान्ति, साबिकका गाविसहरु चन्द्रगढी, पृथ्वीनगर, कुमरखोद, गौरीगञ्ज र खुदुनाबारी चयन गरेको छ । परिस्थिति अनुसार कार्य क्षेत्र विस्तार गर्न सकिने संयोजक डालमियाले जनाए । मेची अभियानका संयोजक बिजय डालमियाको नेतृत्वमा रहेकोे यो अभियानको सचिवालय संयोजकमा पुष्पराज पौडेल, औषधि व्यवस्थापनमा संयोजकमा उमेश सुवेदी, ल्याव व्यवस्थापन संयोजकमा दिलिप सुवेदी, प्रविधि संयोजनमा इन्जिनियर निशान न्यौपाने र किरण खनाल हुनुहुन्छ भने आफ्नो क्षेत्र भित्र एम्बुलेन्स सेवा मेचीनगर नगरपालिकाले उपलब्ध गराएको छ ।

विभिन्न भूगोल भिन्न समितिको निति अनुरुप क्षेत्रगत रूपमा संयोजक चयन शुरु गरिएको बताइएको अभियानमा स्वास्थ्यकर्मी र अन्य स्वयंसेवीसहित लगभग १०० जना स्वयंसेवक रहेका छन् । मेची अभियानले शुरु गरेको उक्त कार्यको प्रशंसा गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोभिडका कारण दीर्घ र जटिल रोगको समस्या भएका मानिसहरुलाई राहत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजीकरण पुष्प पौडेलले गरेका थिए ।