मेचीनगरमा बजार अनुगमन : अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना गरे कार्बाही गरिने


मेचीनगर ।  कोभिड १९ संक्रमणको समयमा बजारमा खाद्य सहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव हुन नदिन र निषेधाज्ञाका समयमा बजारमा हुने कालोवजारी र खाद्य सामग्रीको मुल्य बृद्घि नियन्त्रण गर्न आइतबार मेचीनगरमा बजार अनगमन गरिएको छ ।

नगर स्तरीय अनुगमन टोलीका संयोजक एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा खाद्य अधिकृत, उद्योगी व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघका पदाधिकारी, उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी सुरक्षाकर्मी सञ्चारकर्मीसहितको टोलीले नगरको ९ र १० नम्बर वडाका दर्जनबढी खाद्य पसलको छड्के अनुगमन गरेको थियो । टोलीले मुख्यः व्यपारिक केन्द्र धुलावारी बजारका खाद्य, फलफूल विस्कुटलगायतका पसलको अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण रोक्न र फैलिन नदिन आइतबार मध्यरातदेखि निषेधाज्ञा घोषणा गरेको छ । त्यस बखत हुनसक्ने काला बजारी, खाद्यसहित अत्यावश्यक वस्तुको कृत्रिम अभाव र मुल्य बृद्घि नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिईएको नगर स्तरीय अनुगमन टोलीका संयोजक एवम् मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

अनुगमन टोलीले अनुगमनका क्रममा वील विजक चुस्तदुरुस्त नराखेको, मुल्य सूची नराखेको राखेको भए पनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु फेला पारेको थियो । मेगा फुट्सको म्याङ्गे फ्रुट्स जुस, भवानी मसला एण्ड फूड उद्योगले उत्पादन गरेको दुर्गा मसलासहित विकेएम मसला उद्योग विराटनगरले उत्पादन गरेको विकेएम मिट मसला र विकास फुड उद्योगको पापट उपभोग्य मिति समाप्त भएको फेला पारेको र ती वस्तु नष्ट गर्न सम्बन्धित व्यवसायीलाई भनेको छ ।

टोलीले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको वील विजक सुरक्षित राख्न र नगरपालिकाले आवश्यक परेका बखत माग गरेका बेला उपलब्ध गराउन भनेको छ । यस्तो संकटका बखत दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालो बजारी गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने उपप्रमुख उप्रेतीले चेतावनी दिएकी छन् । टोलीले जानकी किराना पसल, नुपूर भेराइटिज, सुहाना भेराइटिज, पाथीभरा स्टोर्स, मास भेराइटिज स्टोस, घिमिरे किराना पसललगायतको अनुगमन गरेको थियो ।

मुख्यः व्यापारिक केन्द्रविन्दु धुलावारी बजारमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्य वस्तुमा मुल्य बृद्घि भएको अनुगमन टोलीले जनाएको छ । त्यस्ता वस्तुको मुल्यमा बृद्घि भए पनि धेरै खाद्य सामग्री अहिले बजारमा पाउन छाडीएको व्यवसायीहरुको भनाई छ ।
व्यवसायीहरुले आफुहरुले महंगो मुल्यमा खरीद गरेका कारण विक्री गर्दा त्यस्ता वस्तुको मुल्यमा बृद्घि गर्नुपरेको अनुगमन टोली समक्ष प्रतिक्रिया दिएका थिए । उनीहरुका अनुसार दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सनफ्लावर तेल प्रति काटन १ सय देखि एकसय ५० रुपैयाँ, चिनीमा प्रति केजी १० रुपैयाँका दरले मुल्य बृद्घि भएको छ । मेचीनगर नगरपालिकाले होलसेल विक्रेताहरुसँग एक्कासी मुल्य बृद्घिको कारण खोज्ने र आफ्नो मन खुशी मुल्य बृद्घि गर्ने होलसेल व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिईएको छ ।

होलसेल विक्रेताले सवै वस्तुमा मुल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाँध्य भएर मुल्य बढाउनु परेको व्यवसायीको भनाई छ । ढुवानी तथा लोडअनलोड गर्ने मजदुरको अभाव देखाउदै होलसेल विक्रेताले सवै वस्तुमा मुल्य बढाएको खुद्रा विक्रेताको भनाई छ ।
अनुगमन टोलीलमा मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, कार्यकारी निर्देशक गोपाल बस्नेत, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी नायव निरीक्षक नरबहादुर तुम्वाहाम्फे उपभोक्ता मञ्च नेपाल झापा प्रतिनिधिसन्तोष न्यौपानेलगायतको सभागिता रहेको थियो ।